१९ वैशाख २०८३, शनिवार

शान्ति प्रियवन्दनालाइ प्रज्ञा प्रादेशिक पुरस्कारबाट सम्मान

हेटौँडा । मकवानपुरकी साहित्यकर्मी शान्ति प्रियवन्दना प्रज्ञा प्रादेशिक पुरस्कारबाट सम्मानित भएकी छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष विभिन्न साहित्यिक विधामा पुरस्कार वितरण गर्दै आएको छ भने यस वर्षदेखि प्रादेशिक स्तरको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ पनि सुरु गरिएको हो। यो पुरस्कारको नगद राशि ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। शान्ति प्रियवन्दनाले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै यो सम्मान प्राप्त गरेकी हुन्। काठमाडौंस्थित प्रतिष्ठानको सभाहलमा कार्यक्रम आयोजना भए पनि स्वास्थ्य अस्वस्थताका कारण उनी स्वयं उपस्थित हुन सकिनन्।

वि.सं. २०३५ साल वैशाख १ गते मकवानपुरको भिमफेदी–४ मा जन्मिएकी उनको वास्तविक नाम शान्ति कुमारी सुवेदी हो। ‘शान्ति प्रियवन्दना’ उनको साहित्यिक उपनाम हो। उनको पहिलो प्रकाशित रचना ‘कसम नखाउ’ शीर्षकको कविता हो, जुन २०५४ सालमा हेटौँडा–६ स्थित नवजीवनज्योति क्लबको स्मारिकामा समावेश गरिएको थियो।

नेपाली साहित्यमा स्नातकोत्तर अध्ययन पूरा गरेकी शान्ति प्रियवन्दना विशेषगरी पत्रकारिता लेखन, कविता तथा निबन्ध सिर्जनामा सक्रिय रहँदै आएकी छन्। हाल हेटौँडा–४ मा बसोबास गर्दै आएकी उनी प्रगतिशील लेखक सङ्घ, बागमती प्रदेशकी अध्यक्ष तथा प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय सचिवालय सदस्यको भूमिकामा छन्। यसअघि उनले आँचल साहित्य कला पुञ्ज मकवानपुरमा सहसचिव, मातृभूमि साहित्य समाजमा सचिव, साहित्य सङ्गम मकवानपुरमा कार्यसमिति सदस्य, प्रगतिशील लेखक सङ्घ मकवानपुरमा अध्यक्ष, बागमती प्रदेशमा सचिवालय सदस्य र नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागमा सदस्यका रूपमा काम गरिसकेकी छन्।

उनले यसअघि पनि विभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन्। तुलसीमाया शिवकुमारी स्मृति सिर्जनशील नारी पुरस्कार (२०७५), सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान (२०७८), शान्तिदेवी स्मृति वनस्खण्डी साहित्य सम्मान (२०७८), साहित्य पोस्ट उत्तम काव्य पुरस्कार (२०७८), जसुदा साहित्य सम्मान (२०७८) तथा जागरुक महिला सम्मान (२०८०) उनका प्रमुख उपलब्धि हुन्।

हालसम्म उनको एउटा कृति मात्रै प्रकाशित छ। ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ नामक कविता संग्रह २०७८ सालमा सार्वजनिक भएको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.