माघ १७ काठमाडौं । राजनीतिक शब्द आफैँमा भोजन हो । त्यसको आफ्नै स्वाद हुन्छ । बोल्नुअघि आफैँ चाख्न सकिएन भने अरुलाई पस्कनु उपयुक्त हुँदैन । यदी मीठो नभए अरुलाई नपस्कनु नै राम्रो हो । किनकि शब्द मीठो भएमात्र सम्बन्ध मीठो हुन्छ । यही चेतनाले व्यक्तित्व बनाउँछ, यही चेतनाले नेतृत्वलाई दीर्घकालीन बनाउँछ ।
सरेश नेपालको राजनीतिक मन्तब्य यस्तै छ । उहाँ बोल्नु अघि सोच्नुहुन्छ, प्रतिक्रिया दिनु अघि तौलिनुहुन्छ । आजको चर्को अभिव्यक्ति र क्षणिक चर्चाको राजनीतिमा यो गुण दुर्लभ बन्दै गएको छ । तर उहाँको विश्वास छ कि, शब्द बिग्रिए भने सम्बन्ध बिग्रिन्छ, सम्बन्ध बिग्रिए भने राजनीति मात्र होइन, समाज नै कमजोर हुन्छ ।
जीवन सधैँ सहज हुँदैन । कोही थाक्दैमा जिन्दगी रोकिँदैन, कोही निराश हुँदैमा समय रोकिँदैन । उठ्ने कि हार मान्ने निर्णय अन्ततः आफैँले गर्नुपर्छ । सरेश नेपालको यात्राले यही कुरा सिकाउँछ । कठिन परिस्थितिमा पनि उभिन सक्ने साहस र निरन्तरताले मात्र व्यक्ति परिपक्व हुन्छ भन्ने दृष्टान्त सरेश हो ।
सम्बन्ध बिगार्ने हो भने गल्ती कोट्याउन सजिलो हुन्छ । तर सुधार गर्ने हो भने भित्र लुकेको राम्रो कुरा देख्न सक्नुपर्छ । सरेश नेपाल आलोचनाभन्दा समाधानमा विश्वास गर्ने नेता हुन् । असन्तोष मान्छेलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने यथार्थ बुझ्ने क्षमता सरेशमा छ । त्यसैले सबैलाई खुसी पार्ने भ्रम होइन, सही काम गर्ने संकल्प उहाँको प्राथमिकता हो ।
मान्छेले कसैलाई हजार मद्दत गरे पनि एकपटक नगर्दा त्यही नदेखिएको मद्दत मात्र सम्झिन्छ । यो समाजको स्वभाव हो । त्यसैले सरेश नेपाल सधैँ सही छु भन्ने दाबी गर्नुहुन्न । तर नियत सही हुनै पर्छ भन्नेमा उहाँ अडिग हुनुहुन्छ । नियत गलत नभए बाटो आफैँ उज्यालो हुन्छ भन्ने विश्वासले उहाँलाई निर्देशित गर्छ ।
छत्तिस गुण खोज्ने समाजमा चार गुण भए पुग्छ भन्ने उहाँको धारणा छ । ईमान, परिश्रम, समयको कदर र राम्रो व्यवहार यिनै गुणले व्यक्ति मात्र होइन, सार्वजनिक जीवन पनि उचालिन्छ ।
आजको जिन्दगी अत्यन्त व्यस्त छ । बिहान उठेपछि सामाजिक सञ्जालमा स्टाटस लेखिन्छ, दिउँसो कसले हेरे भनेर गनिन्छ, बेलुकी जसलाई लेखिएको हो उसले हेरेन कि भनेर तनाव लिइन्छ । तर सरेश नेपाल स्टाटसको राजनीतिमा होइन, स्थायित्वको राजनीतिमा विश्वास गर्नुहुन्छ । लाइक र कमेन्टको मात्र होइन, विश्वासको मूल्य चिन्नुहुन्छ ।
यस अर्थमा सरेश नेपाल राजनीतिक पात्र मात्र होइनन् । उहाँ शब्दको स्वाद बुझ्ने, सम्बन्धको मोल चिन्न सक्ने र नियतलाई पदभन्दा माथि राख्ने प्रतिनिधि पात्र हो । आजको राजनीतिमा यस्तै सोच, यस्तै संयम र यस्तै स्पष्टता आवश्यक छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.