२८ पुष २०८२, सोमवार

साम्राज्यवादी आतङ्कवाद

मोहनविक्रम सिंह

पहिले आतङ्कवाद व्यक्तिगत रूपमा विद्यमान थियो । पछि त्यसले राज्य आतङ्कवादको रूप लियो । अब त्यसले साम्राज्यवादी आतङ्कवादको रूप लिँदै गइरहेको छ । खास गरेर ट्रम्पको नेतृत्वमा आतङ्कवादले साम्राज्यवादी रूप लिँदै गइरहेको कुरामा कुनै संका रहन्न । अमेरिकाका राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घको घोषणा–पत्र वा अन्तर्राष्ट्रिय कानुन समेतको अतिक्रमण गरेर सिधै विभिन्न देशहरू माथि आक्रमण गर्ने मात्र होइन, पूरै देशलाई नै कब्जा गर्ने नीति अपनाउँदै गइरहेका छन् । उनले हालै भेनेजुएला माथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति मादुरोलाई अपहरण गरे । उनले ग्रीनल्याण्ड माथि पनि कब्जा गर्ने कुरा गरिरहेका छन् भने क्यानडालाई पनि संयुक्त राज्य अमेरिकाको एकाउन्नौँ राज्य बनाउने कुरा गरिरहेका छन् । उनले इरान माथि सिधै आक्रमण गर्ने कुरा गरिरहेका छन् । त्यति मात्र होइन, उनले त्यहाँ राजतन्त्रको पुर्नस्थापनाका लागि पनि बल लगाइरहेका छन् । त्यसबाट साम्राज्यवाद र प्रतिगमनका बिचमा कति धेरै घनिष्ठता हुन्छ, त्यो कुरा बुझ्न पनि गाह्रो पर्दैन । पनामाको नहरलाई पनि अमेरिकाले कब्जा गर्ने धम्की दिईरहेको छ । अमेरिकाको त्यस प्रकारको नीति साम्राज्यवादी नीति आतङ्कवाद नै हो । 

साम्राज्यवादको त्यस प्रकारको आतङ्कवादी नीतिका कारणले सम्पूर्ण विश्वको शान्ति, सुव्यवस्था र विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामा समेत गम्भीर खतरा उत्पन्न भएको छ । अमेरिका आणविक हतियार सम्पन्न देश हो । त्यस प्रकारको शक्तिका कारणले नै त्यसले संसारभरमा आतङ्क सच्चाउने काम गरिरहेको छ । अमेरिकाले अहिले ‘अमेरिका फस्ट’ को नारा दिएको छ र त्यसले अमेरिकाको सुरक्षाको नाममा जुनसुकै देश माथि पनि आक्रमण गर्ने आफ्नो अधिकार भएको दाबी गरिरहेको छ । ग्रीनल्याण्ड, क्यानडा वा पनामा नहर माथि पनि त्यसले अमेरिकाको सुरक्षाका लागि नै कब्जा गर्ने घोषणा गरिएको छ । त्यो अवस्थामा अमेरिकाको साम्राज्यवादी आतङ्कवादी नीतिका विरुद्ध विश्वव्यापी रुपमा संघर्ष गर्नु अहिलेको अन्तराष्ट्रिय आवश्यकता बन्न गएको छ ।

अमेरिकाले आफ्नो साथमा आणविक हतियार भएको हुनाले संसारभरि नै त्यस प्रकारको आतङ्कवादी नीति अपनाइरहेको छ । तर वास्तविकता यो हो कि अमेरिका बाह्य रूपले जति शक्तिशाली देखिन्छ, आन्तरिक रूपमा त्यो झन् पछि झन् कमजोर हुँदै गइरहेको छ । प्रथमतः पुँजीवादी उत्पादन प्रणालीका कारणले नै त्यसको स्थिति कमजोर हुँदै जान्छ । पुँजीवादी प्रणाली अन्तर्गत अधिकतम नाफा कमाउनका लागि उत्पादन प्रणालीलाई झन् पछि झन् ठुलो पैमानामा विकसित गर्दै लैजानु आवश्यक हुन्छ । त्यसको अर्थ हुन्छ, पुँजीवादी उत्पादन प्रणालीले झन् पछि झन् सामाजिक रूप लिँदै जान्छ । तर अर्कातिर, उत्पादनका साधनहरू माथिको स्वामित्व वा उत्पादनको फल प्राप्त गर्ने तरिका व्यक्तिगत प्रकारको हुन्छ । त्यसरी पुँजीवाद भित्रको उत्पादनको सामाजिक स्वरूप र व्यक्तिगत स्वामित्वका बिचको अन्तर्विरोध, जो पुँजीवादी प्रणाली भित्रको आधारभूत अन्तर्विरोध हो, झन् पछि झन् बढ्दै र तीव्र हुँदै जान्छ । त्यही अन्तर्विरोधका कारणले पुँजीवाद भित्र गम्भीर प्रकारको आर्थिक मन्दी वा सङ्कट पनि बढ्दै जान्छ । पुँजीवादले त्यो सङ्कटको समाधानका लागि जति प्रयत्न गरे पनि पुँजीवादी प्रणाली रहँदासम्म कहिल्यै पनि त्यो सङ्कटको समाधान हुँदैन । त्यो सङ्कटको समाधान अन्त्यमा समाजवादी व्यवस्थाको स्थापना पछि नै सम्भव छ । लेनिनले भनेझैँ साम्राज्यवाद पुँजीवादको सर्वोच्च र नाशोन्मुख अवस्था हो । अहिले ट्रम्पले जुन प्रकारका वा आतङ्कवादी नीतिहरू अपनाउदै गइरहेका छन्, त्यसले गर्दा उनले पुँजीवादको अन्त्यका लागि नै मार्ग प्रशस्त गर्ने काम गरिरहेका छन् ।

साम्राज्यवादी व्यवस्था अन्तर्गत साम्राज्यवादी शक्तिहरू बिचको अन्तर्विरोध अरू तीव्र रूप लिँदै जान्छ । पुँजीवादको मुख्य उद्देश्य अधिकतम नाफा हो । त्यो नाफाको आवश्यकता जति बढ्दै जान्छ, त्यही अनुपातमा विभिन्न साम्राज्यवादी शक्तिहरूका बिचको बजार झन् संकोचित हुँदै जान्छ र बजारका लागि उनीहरूका बिचमा अन्तर विरोध बढ्दै जान्छ ।  बजारका लागि पुँजीवादी शक्तिहरूका बिचमा चलेको त्यही प्रकारका अन्तरविरोधका कारणले प्रथम र द्वितीय विश्वयुद्ध भएका थिए र ती युद्धहरूको परिणाम स्वरुप विश्व साम्राज्यवादको स्थिति धेरै नै कमजोर भएको थियो । द्वितीय विश्वयुद्ध पछि संसारका धेरै औपनिवेशिक देशहरू स्वतन्त्र मात्र भएनन्, त्यहाँ कैयौँ नयाँ पुँजीवादी वा साम्राज्यवादी देशहरूको पनि विकास हुँदै गयो । त्यसले गर्दा बजारका लागि साम्राज्यवादी शक्तिहरूका बिचको अन्तर्विरोध अरू बढेर गयो । अहिले ट्रम्प सत्तामा आएपछि साम्राज्यवादका बीचको त्यो अन्तर्विरोध अरू तीव्र बन्दै गइरहेको छ ।

ट्रम्पले जसरी ट्यारिफ बढाउदै लगे, त्यसले गर्दा संसारका कैयौँ पुँजीवादी वा साम्राज्यवादी देशहरूसितको अमेरिकाको अन्तरविरोध बढेर गयो । अहिले ट्रम्पले ग्रीनल्याण्डलाई कब्जा गर्ने जुन नीतिको घोषणा गरेका छन्, त्यसबाट नाटोसित नै उनको अन्तरविरोध बढेर जाने सम्भावना देखा पर्दै गइरहेको छ । नाटोसितको अमेरिकाको अन्तरविरोध बढ्नुका साथै अमेरिकाको शक्तिमा धेरै नै ह्रास आउने कुरा निश्चित छ । अमेरिकाको क्यानडा वा पनामा क्यानललाई कब्जा गर्ने नीतिबाट पनि अन्य पुँजीवादी वा साम्राज्यवादी देशहरूसितको अमेरिकाको अन्तरविरोध अरु बढेर गइरहेको छ र अरु बढेर जानेछ । ट्रम्पको आप्रवाशी सम्बन्धी नीतिबाट पनि विश्वभरमा नै उनी धेरै नै अलोकप्रिय बनेर गएका छन् ।

अन्य देशहरूसित अमेरिकाको अन्तर्विरोध बढेर जानुका साथै स्वयम् अमेरिका भित्र पनि त्यसको स्थिति कमजोर हुँदै गएको छ । एकातिर, ट्रम्पले संसारभरि लगाएको ट्यारिफ नीतिबाट अमेरिकाको बजारमा नै गम्भीर समस्या देखा पर्दै गएको छ र स्वयम् अमेरिकामा नै ट्रम्पप्रतिको असन्तोष बढ्दै गइरहेको छ । त्यहाँ ट्रम्पको शासनको विरुद्ध लाखौँ जनताको विरोध प्रदर्शनबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । स्वयम् रिपब्लिक पार्टीका सिनेटहरू पनि झन पछि झन ट्रम्पका विरुद्ध देखा पर्दै गइरहेका छन् ।

मध्ये एसिया, दक्षिण अमेरिका, भारत आदि देशहरूसित पनि अमेरिकाको अन्तर्विरोध बढ्दै गइरहेको छ । ट्रम्पले पूरा शक्ति लगाउनुका बावजुत न्यूयोर्कको मेयरमा ट्रम्पको उम्मेदवारको पराजयले पनि अमेरिकामा ट्रम्प कति धेरै अलोकप्रिय हुँदै गएका छन् ? त्यो कुरा बुझ्न गाह्रो पर्दैन । संक्षिप्तमा, यो भन्न सकिन्छ कि ट्रम्पले जुन प्रकारको नीति अपनाइरहेका छन् वा आतंकवादको नीति अपनाइरहेका छन्, त्यसबाट खाली ट्रम्प र अमेरिकी साम्राज्यवाद मात्र होइन, विश्व साम्राज्यवादको स्थिति नै कमजोर हुँदै गइरहेको कुरा बुझ्न गाह्रो पर्दैन । सिंह नेकपा मसालको महामन्त्री हुनुहुन्छ 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.