रामकृष्ण तिमल्सिना
सभ्यताको इतिहास हेर्दा, प्रकाश र अँध्यारो, सत्य र असत्य, सद्गुण र दुष्टता सधैं एकसाथ चलेका छन्। देवत्वको खोजीमा निस्केको मानिस कहिलेकाहीँ आफूभित्र लुकेको अँध्यारो शक्तिसँग जुध्न असमर्थ हुन्छ। यही द्वन्द्वलाई प्रतीकात्मक रूपमा “लुसिफर” भनिन्छ जो प्रारम्भमा प्रकाशको वाहक थियो, तर अहंकार र विद्रोहको कारण पतन भोग्दै सैतान बन्यो। लाटिन भाषामा lux (प्रकाश) र ferre (लैजानु) मिलेर बनेको “Lucifer” शब्दले मूलतः उज्यालोको अर्थ दिन्छ, तर धार्मिक र मनोवैज्ञानिक अर्थमा यो शब्द मानव अहंकार, शक्ति लोभ, र नैतिक पतनको रूपक हो। जोन मिल्टनको प्रसिद्ध कृति Paradise Lost मा लुसिफरले स्वर्गको आज्ञा अस्वीकार गर्दै भन्छ, “स्वर्गमा दास भएर बस्नुभन्दा नर्कमा राज गर्नु उत्तम।” यही वाक्य मानव आत्माको दम्भ, स्वतन्त्रताको गलत बोध, र पतनको चेतावनी बनेर रहन्छ।
प्रोफेसर फिलिप जिम्बार्डोले आफ्नो पुस्तक The Lucifer Effect: Understanding How Good People Turn Evil (२००७) मार्फत यो लुसिफर प्रतीकलाई सामाजिक मनोवैज्ञानिक अध्ययनको केन्द्रमा ल्याए। उनले Stanford Prison Experiment (१९७१) मार्फत देखाए कि असल मानिस पनि गलत प्रणाली, गलत वातावरण र भूमिकामा परेपछि अत्याचारी बन्न सक्छ। केही दिनको कृत्रिम जेल प्रयोगमै विद्यार्थीहरू “गार्ड” बनेर निर्दयी भए र “कैदी” बनेकाहरू मानसिक रूपमा भत्किए। यसले प्रमाणित गर्यो कि दुष्टता केवल व्यक्ति भित्रको रोग होइन, परिस्थितिको उपज पनि हो। यही विचार पछि अबु घ्रेब कारागार (इराक, २००३) मा अमेरिकी सैनिकहरूले गरेको अत्याचारमा पनि देखियो जब सिस्टमले अनुमति दिन्छ, तब सामान्य मानिस पनि असामान्य क्रूर बन्छ।
मानव मनोविज्ञानमा यसलाई बुझ्नका लागि कार्ल युङले प्रस्तुत गरेको “Shadow Theory” अत्यन्त गहिरो छ। युङका अनुसार हरेक मानिसको मनभित्र एक छायाँ हुन्छ जहाँ उसले दमन गरेका इच्छा, क्रोध, ईर्ष्या र हिंसात्मक प्रवृत्तिहरू लुकेका हुन्छन्। जो व्यक्ति आफ्नो छायाँलाई अस्वीकार गर्छ, उसकै व्यवहारमा त्यो अँध्यारो अनियन्त्रित रूपमा प्रकट हुन्छ। युङ भन्छन् कि “मानव प्रकाशमा पुग्दैन जबसम्म उसले आफ्नो अँध्यारोलाई सचेत रूपमा स्वीकार्दैन।” यसैको विपरीत, अल्बर्ट बान्डुराले Moral Disengagement सिद्धान्तमार्फत देखाए कि मानिसले गलत कार्यलाई नैतिक रूपमा औचित्यपूर्ण देखाउन सिक्छ- “म आदेश पालना गर्दै छु”, “सबैले गर्छन्”, “पीडितले पाउने योग्य सजाय हो” भन्ने सोच यही मनोवैज्ञानिक धोखाको रूप हो।
यसै सन्दर्भमा स्ट्यान्ली मिलग्रामको “Obedience to Authority” प्रयोग (१९६३) अत्यन्त प्रसिद्ध छ। मानिसहरूलाई आदेश दिइँदा, उनीहरूले अरूलाई विद्युत झट्का दिँदै गए, यद्यपि पीडामा कराउने आवाज सुनिरहेका थिए। केवल “आदेश पालन” भन्ने कारणले उनीहरूले आफ्नो विवेक गुमाए। यही विषय सोलोमन एशको “Conformity Experiment” मा पनि देखिन्छ कि मानिसहरू समूहको गलत धारणा सँगै जान्छन्, किनकि “अलग देखिनु” सामाजिक रूपमा डर लाग्दो हुन्छ। यसरी सामाजिक दबाब, समूह अनुकरण र अधिकारको प्रभावले मानिसको नैतिक सीमालाई भत्काइदिन्छ।
अन्तर्राष्ट्रिय इतिहासले लुसिफर प्रभावका असंख्य उदाहरणहरू देखाएको छ। नाजी जर्मनीमा लाखौं मानिसहरूले केवल “आदेश पालन” भन्दै नरसंहारमा भाग लिए। रुवान्डा नरसंहार (१९९४) मा प्रचार र समूह दबाबले सामान्य नागरिकहरू हत्यारा बने। भियतनाम युद्धको माइलाई नरसंहार (१९६८) र इराकको अबु घ्रेब कारागार (२००३) दुवैले देखाए जब संस्थागत नियन्त्रण कमजोर हुन्छ, तब दुष्टता सामान्य बन्छ। आधुनिक समयमा पनि Enron जस्तो आर्थिक घोटाला, वा Facebook जस्तो डाटा दुरुपयोग, वा राजनीतिमा हुने सत्ता व्यापार सबै लुसिफर इफेक्टका रूप हुन् जहाँ असल मानिस प्रणालीको संरचना भित्र पसेपछि असत्यको भागीदार बन्छ।
यी विषयहरूलाई व्याख्या गर्ने पुस्तकहरूको श्रृंखला पनि धेरै छ। जिम्बार्डोको The Lucifer Effect, मिलग्रामको Obedience to Authority, हान्ना अरेन्टको Eichmann in Jerusalem जसले “Banality of Evil” को अवधारणा दिएको थियो; युङको Aion, बान्डुराको Moral Disengagement, भिक्टर फ्रान्कलको Man’s Search for Meaning, र गुस्टाभ ले बोनको The Crowd सबैले मानव मनोविज्ञानको अँध्यारो र सामूहिक रूपको अध्ययन गरेका छन्।
मानव समाजमा लुसिफर केवल धर्मको पात्र होइन, चेतनाको दर्पण हो। नेपालजस्ता देशहरूमा पनि जब शक्ति, पद, वा निष्ठाको नाममा विवेक गुमाइन्छ, जब नीति भन्दा स्वार्थ अगाडि आउँछ, जब निष्ठा भन्दा पार्टी, मित्रता वा लाभ प्रमुख बन्छ त्यतिखेर लुसिफर प्रभाव प्रत्यक्ष रूपले देखा पर्छ। कार्यालयमा हुने भ्रष्टाचार, राजनीति भित्रको विश्वासघात, हिंसा र प्रचारद्वारा नचाइने सत्तालालसा र अहिलेको बिध्वंसहरु सबै लुसिफर प्रभावका आधुनिक रूप हुन्।
अन्ततः, मानिसको हृदयमा देवत्व र दुष्टता दुवैको बीउ हुन्छ। सभ्यताको यात्रा भनेको यही दुई शक्तिको संघर्ष हो, अहंकार र विवेकको द्वन्द्व। समाज तब मात्र स्थिर हुन्छ जब यसले नैतिक अनुशासन, आत्मचेतना, र उत्तरदायी प्रणाली कायम गर्छ। लुसिफरलाई हराउनुको अर्थ उसको अस्वीकार होइन, उसको पहिचान र नियन्त्रण हो।
रूसी लेखक अलेक्जेन्द्र सोल्झेनीत्सिनले भनेका छन् “सद्गुण र दुष्टताको सीमारेखा कुनै देश, वर्ग, वा सिद्धान्तबाट होइन,प्रत्येक मानिसको हृदयभित्रबाट गुज्रिन्छ।”त्यसैले, लुसिफर प्रभावको अन्त्य गर्ने उपाय नै आत्मज्ञान, नैतिक शासन, र चेतनाको जागरण हो जसले अँध्यारोलाई उज्यालोमा रूपान्तरण गर्छ। तिमल्सिना सर्वोच्च अदालतको पुर्व रजिस्ट्रार र समावेशी आयोगको पुर्व अध्यक्ष हुनुहुन्छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.