२३ भदौ २०८२, सोमवार

Gen Z : आन्दोलन होइन, नवप्रवर्तनको पुस्ता बन्नु पर्छ !!

नवराज भुर्तेल

आजको संसारमा सबैभन्दा बढी चर्चा भएको पुस्ता भनेको Gen Z हो। यस पुस्ताबारे कोही उत्साहित छन्, कोही चिन्तित छन्, तर एक कुरा सबैलाई स्पष्ट छ यो पुस्ता सचेत छ, प्रबुद्ध छ र भविष्य बोकेको पुस्ता हो। विगतका पुस्ताले देखेका आन्दोलन, विद्रोह र राजनीतिक उतारचढावका कथा तिनीहरूको जीवनको महत्वपूर्ण अध्याय थिए, तर त्यही बाटोमा हिँडेर मात्र यो पुस्ताले आफ्नो पहिचान बनाउने हो भने त्यसमा कुनै नवीनता रहने छैन। प्रश्न उठ्छ तिमीहरू हामीभन्दा वा हामीभन्दा अघिल्लो पुस्ताभन्दा के फरक भयौ?

विगतका पुस्ताहरू प्रविधिको पहुँचबाहिर थिए। सूचना आदान–प्रदान गर्न पत्र र रेडियोमै सीमित, शिक्षा लिन भौतिक पुस्तकमै सीमित, र विचार व्यक्त गर्न सडकमा नारा लगाउनमै सीमित। उनीहरूको संघर्ष र योगदानलाई अस्वीकार गर्न सकिँदैन। तर, अहिलेको पुस्ता भने प्रविधि सम्पन्न युगमा जन्मिएको छ। हातमा स्मार्टफोन, आँखामा डिजिटल संसार र वरिपरि कृत्रिम बौद्धिकता, बिग–डेटा, ब्लकचेन जस्ता प्रविधिका छालहरूले भरिएको युगमा यो पुस्ता हुर्किएको छ।

त्यसैले, आन्दोलनको परिभाषा पनि फेरिनुपर्छ। अब आन्दोलन भनेको ढुंगामुढा गर्नु होइन, नयाँ प्रणाली बनाउनु हो। सडकमा नारा लगाएर मात्र विदेशी सफ्टवेयर कम्पनीहरूको चुनौती सामना गर्न सकिँदैन; बरु, उनीहरूले गर्न नसकेको उत्कृष्ट प्रविधि बनाइदिएर देखाउन सकिन्छ। सडकमा लाठी बोकेर होइन, लापटप बोकेर; ढुंगामुढा गरेर होइन, नयाँ एप्प र सफ्टवेयर सिर्जना गरेर; आक्रोशको भाषण गरेर होइन, तर्क र नवप्रवर्तनको प्रस्तुति गरेर यो पुस्ताले आफ्नो योगदान प्रमाणित गर्न सक्छ।

समस्या के छ भने, हरेक पुस्तामा युवालाई उक्साउने, उनीहरूको भावनालाई प्रयोग गर्ने, र सस्तो लोकप्रियताको नारा बेच्ने समूह हुन्छन्। राजनीतिक स्वार्थी तत्वहरूले युवालाई आफ्नो हतियार बनाउन खोज्छन्। इतिहासमै हेरौं युवाको आन्दोलनले सत्तालाई परिवर्तन गरेको धेरै उदाहरण छन्, तर सत्ताको स्वरूपमा मात्र परिवर्तन भयो, समाजमा अपेक्षित रूपान्तरण भने प्रायः भएन। यही दोहोरिँदो कथा फेरि नहोस् भन्न Gen Z ले आफूलाई सचेत राख्नुपर्ने छ।

राजनीतिक चेतना आवश्यक छ, तर अन्धभक्त बन्नु वा अन्धविरोधी बन्नु मूर्खता हो। राजनीति भन्नु केवल सडकको उग्र प्रदर्शन होइन, बरु विवेकसहित नीतिगत सुधार हो। लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था स्वीकार्दै, कानूनको शासनलाई आत्मसात् गर्दै, राष्ट्रलाई प्रविधि र सिर्जनाको बाटोमा डोर्याउनु नै आजको पुस्ताको कर्तव्य हो।

Gen Z को पहिचान आन्दोलनमा होइन, सिर्जनामा छ। यो पुस्ताले भविष्यलाई सुरक्षित पार्ने हो भने, तिनले आफ्नो ऊर्जा उद्यमशीलता, अनुसन्धान, नयाँ उत्पादन र सेवामा लगाउनुपर्छ। नेपाललाई विदेशी प्रविधिमा मात्र आश्रित होइन, आफ्नै आविष्कार र प्रणालीमा आत्मनिर्भर बनाउनुपर्छ। यही हो राष्ट्रप्रेमको नयाँ परिभाषा। सडकमा सरकार बदल्ने नारा भन्दा ठूलो कुरा हो, नयाँ अवसर सिर्जना गर्ने हिम्मत।

अन्ततः, हामीले स्वीकार गर्नैपर्छ, Gen Z भविष्य बोकेको पुस्ता मात्र होइन, वर्तमानको चालकशक्ति पनि हो। यस पुस्ताले आफ्नो बाटो सावधानीपूर्वक रोज्नुपर्छ। उक्साहटमा लागेर सिंहदरबारको ढोकामा ढुंगामुढा गर्न पुग्ने हो भने, त्यो केवल आन्दोलनकारी पुस्ता मात्र ठहरिन्छ। तर, प्रविधि र नवप्रवर्तनमार्फत विश्वसामु आफ्नो पहिचान देखाउने हो भने, त्यो वास्तविक Gen Z को पुस्ता हो, जसले इतिहासमा नयाँ अध्याय लेख्छ।

राष्ट्रलाई अहिले आवश्यक छ योगदान not by protest, but by innovation. यही बाटोमा हिँड्दा मात्र Gen Z ले आफ्नो नाम पुस्तौँ पुस्तासम्म गर्वसाथ उत्कीर्ण गर्न सक्छ। भुर्तेल नेकपा एमाले जिल्ला कमिटी काभ्रेको सचिवालय सदस्य हुनुहुन्छ

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.