७ भदौ २०८२, शनिवार

“भुइँमान्छेको बल, गुटबन्दीको दलदल र एमालेको भविष्य”

नवराज भुर्तेल 

नेकपा एमाले पार्टी भुइँमान्छे कार्यकर्ताले पसिना, आँसु र आस्थाले जोगाएको पार्टी हो जसको भावनात्मक सम्बन्ध जाबज र सूर्य चिन्ह सँग थियो, छ र सधैं रहनेछ तर दुर्भाग्यवश पटक–पटक स्वार्थीहरू, दलालहरू र अवसरवादीहरूले धोका दिइरहे । २०५६ सालमा एमाले स्पष्ट बहुमत ल्याउने अवस्थामा हुँदा बामदेव समूह र केही चाकडीबाजहरूको कारण पार्टी फुट्यो तर त्यतिबेला पनि कार्यकर्ताले संगठनलाई जोगाए। २०५८ देखि २०६५ सम्म एमाले दिशाहीन, “न पोथी न भाले” भन्ने संज्ञासम्म पाएको थियो। २०७८ सालमा शीर्ष नेताहरूकै कारण पार्टी र चिन्ह नै धराशायी हुने अवस्थामा पुगेको बेला अध्यक्षको निडर र चलाख नेतृत्व नभएको भए एमाले समाप्त हुने थियो तर २०७९ को चुनावमा देशका सबै शक्ति एमालेविरुद्ध एकताबद्ध हुँदा पनि भुइँमान्छे कार्यकर्ताकै योगदानले पार्टीलाई उचालियो। त्यसैले आज उनीहरूलाई खिसी–टिउरी गर्नु केवल अन्याय मात्र होइन गम्भीर राजनीतिक भूल हो ।

२०७२ सालमा बनेको एमाले नेतृत्वको सरकारले इतिहासमै अभूतपूर्व लोकप्रियता हासिल गर्‍यो। भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माणको जिम्मेवारी, नयाँ संविधान जारी गर्ने ऐतिहासिक साहस, सामाजिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको दृढताले कार्यकर्तामात्र होइन आम जनताको मन जित्यो। त्यसपछि बनेका सरकारहरूमा पनि एमाले नेतृत्वले देशको दीर्घकालीन हितका लागि अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण सम्झौता–सहयोगहरूको ढोका खोले। भारत–चीन–युरोपसहितका मुलुकहरूसँग भएका सम्झौताले नेपालको भू–राजनीतिक सन्तुलनलाई मजबुत बनायो। त्यतिबेलै सुरू गरिएका दूरदर्शी योजना माथिल्लो तामाकोशी, बुढीगण्डकी, पेट्रोलियम पाइपलाइन, जलविद्युत् निर्यात, पूर्व–पश्चिम द्रुतमार्ग, कृषिमा यान्त्रीकरण र सामाजिक सुरक्षा योजना सबै एमाले नेतृत्वको दृष्टि र क्षमता प्रमाणित गर्ने उपलब्धिहरू हुन्। यी कदमहरूले एमालेलाई “विकास र राष्ट्रिय स्वाभिमानको पार्टी” को रूपमा स्थापित गरेका थिए। सात लाखभन्दा बढी कार्यकर्ता र ३० लाखभन्दा बढी मतदाता भएको एमालेको नेतृत्व खुला मन, सहृदयता र समावेशी भावनाले सुसज्जित हुनुपर्छ। आन्तरिक प्रतिस्पर्धामा पराजित भएकालाई अपमान गर्ने प्रवृत्ति स्थान पाउनु हुँदैन। आन्तरिक प्रतिस्पर्धामा पछि परेकाहरूप्रति धैर्य गर्न नसक्ने प्रवृत्ति कार्यकर्ताको आँखामा घृणित छ। नेताको वरिपरि मात्र घुम्ने र सामाजिक सञ्जालमा फोटो हालेकै भरमा नेता बन्ने प्रवृत्ति पनि कार्यकर्ताले अस्वीकार गरेका छन्। “भजन मण्डली” मात्र पाल्ने संस्कृतिले संगठनलाई कमजोर बनाउँछ र दलाली, तस्करी, कुण्ठा र व्यक्तिगत कमाइको धन्दामा रमाउनेहरूको वरिपरि घेराबन्दी बनाइदिने हो भने २०८४ को निर्वाचनमा पार्टी संकटमा पर्छ।

आज कार्यकर्ताको मन धमिलिनुको कारण बाह्य शक्ति होइन बरु आन्तरिक गुटबन्दी, जथाभावी बोल्ने अवसरवादी अनुयायी र चुनाव जित्न असमर्थ तर नेतागिरी गर्न चाहनेहरूको गतिविधि हुन्। अध्यक्षज्यू, तपाईँले राष्ट्र निर्माणमा देखाउनुभएको हुटहुटी कार्यकर्ताले देख्छन् र विश्वास गर्छन् तर पार्टीलाई जोगाउने चुनौती आज तपाईँकै काँधमा छ। यदि साहसिक निर्णय गरेर दलाल–घेराबन्दी भत्काउन सक्नुभयो भने एमाले अझ सबल हुन्छ, नत्र भुइँमान्छेको बलले मात्र पनि धेरै दिन पार्टी टिकाउन सक्दैन।

गुटबन्दी र घेराबन्दीले पटक–पटक पार्टी कमजोर बनाएको छ। गुटका नाममा कार्यकर्तालाई छाड्ने, भजन मण्डलीलाई मात्र पुरस्कृत गर्ने, प्रतिस्पर्धीलाई अपमान गर्ने, फोटो हालेकै भरमा नेतागिरी गर्ने प्रवृत्तिले संगठनलाई कमजोर पारेको छ। त्यसमाथि पूर्वराष्ट्रपति विद्या भण्डारीका हालका गतिविधि पनि एमाले र जनताको भावना विपरीत छन्। उनले एमालेभित्र गुटबन्दी र विभाजनलाई प्रोत्साहन गर्ने, संगठनलाई बलियो बनाउन योगदान दिनुभन्दा व्यक्तिगत मोह र स्वार्थलाई प्राथमिकता दिने, असमझदारी बढाउने खालका गतिविधि गर्ने जस्ता कारणले अपेक्षित जिम्मेवार र सकारात्मक भूमिकाको सट्टा पार्टीलाई कमजोर पार्ने भूमिका खेलिन्, जुन गम्भीर त्रुटि हो।

नेकपा एमालेलाई जोगाउने शक्ति फेरि भुइँमान्छे कार्यकर्ताकै काँधमा छ तर यसपटक कार्यकर्ताको मात्र बलमा होइन शीर्ष नेतृत्वको साहसिक निर्णयमा पनि भविष्य टिकी रहेको छ। गुटबन्दी, घेराबन्दी, भजन मण्डलीको संस्कृति अन्त्य गर्नैपर्छ। दलाल, तस्कर, अवसरवादी र फोटो–नेतागिरी गर्ने प्रवृत्ति उन्मूलन गर्नैपर्छ। भुइँमान्छेको विश्वासको रक्षा गर्नैपर्छ। किनभने २०८४ को निर्वाचन पार्टीको मात्र होइन देशको भविष्यसँग जोडिएको छ, त्यसैले अहिले नै निर्णायक कदम चाल्न जरुरी छ। भुर्तेल नेकपा एमाले काभ्रे जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.