२० माघ २०८२, सोमवार

ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्छु, संसदमा पछाडि बसेर निदाउँदिन: बर्तौला

१९ माघ, हेटौंडा, मकवानपुर  ।  नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर-२ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू संसदमा मौन बस्न वा निदाउन नभई जनताको आवाज बुलन्द गर्न जाने बताएका छन् । चुनावी तयारी स्वरुप शुभचिन्तक भेटघाटको क्रममा इन्द्रसरोवर गाउँपालिकाका विभिन्न वडा पुगेका बर्तौलाले संसदमा आफ्नो सक्रिय भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।

​"म संसदमा अगाडि बसेरै ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने मान्छे हुँ, पछाडि बसेर निदाउँदिन," बर्तौलाले मतदातामाझ भने, "तपाईंको अमूल्य मतलाई म भोलिको विश्वासमा रुपान्तरण गर्ने गरी काम गर्नेछु।"

​​भेटघाटका क्रममा इन्द्रसरोवर-१, भालुखर्कका ५८ वर्षीय तिलक बहादुर नेगीले कृषि उपजको बजारीकरणका लागि ज्यामिरे-गोगने-भालुखर्क-घैयाडाँडा सडक स्तरोन्नति गर्न माग गरे। त्यस्तै, वडा नम्बर ३ का उमेश राना मगरले किसानका उत्पादन राज्यले खरिद गर्ने नीतिगत व्यवस्था, शिक्षा विधेयकको तार्किक निष्कर्ष र मालपोत कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणका लागि पहल गर्न सुझाव दिए ।

​विशेष गरी इन्द्रसरोवर क्षेत्रमा रहेको जग्गाको सार्वजनिक गुठी समस्यालाई समाधान गर्न वा 'रैकर'मा परिणत गर्नका लागि संसदमा गुठी विधेयकमाथि काम गर्न स्थानीयले बर्तौलालाई आग्रह गरेका छन् । काप्राङका कृष्णलाल मुक्तानले शिक्षा क्षेत्रको सुधार र खानेपानी आयोजनाको निरन्तरताका लागि ध्यान दिनुपर्ने बताए ।

​स्थानीयका जिज्ञासा र मागको सम्बोधन गर्दै बर्तौलाले आफ्नो अघिल्लो ३२ महिनाको कार्यकालमा नीति निर्माणसँगै विपद् उद्धार र भौतिक विकासमा सक्रिय रहेको स्मरण गराए । उनले भने, "मेरो मुख्य जिम्मेवारी नीति निर्माण नै हो, तर म तपाईंहरूको विकासको आकांक्षालाई कहिल्यै ओझेलमा पर्न दिने छैन । अधुरा कामहरू पूरा गर्ने मेरो दृढ संकल्प छ।" 

​कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले स्थानीय तहबाट सडक, विद्युतीकरण र स्वास्थ्यमा काम भइरहेको जानकारी दिइन् । एमाले मकवानपुर-२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामीले मिडियालाई वताए अनुसार अहिले चुनावी अभियान तीव्र पारिएको छ । भेटघाट कार्यक्रममा समानुपातिक उम्मेदवार मेम्बर लो तामाङ, एमाले प्रदेश कमिटी सदस्य नारायण रिजाल, जिल्ला कमिटी सदस्य धनवीर स्याङतान, युवा परिचालन प्रमुख निमा लामा, स्थानीय नेता चन्द्र लामा, होम बहादुर थापा र विद्यार्थी नेता प्रभाष घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.