माघ १७, बाह्रबिसे, सिन्धुपाल्चोक । नेकपा (एमाले) बाह्रबीसे नगर कमिटीमा लामो समयदेखि चल्दै आएको आन्तरिक किचलो अन्ततः समाधान भएको छ । समानान्तर रूपमा दुईवटा नगर कमिटी सक्रिय भएपछि संगठन नै अस्तव्यस्त बनेको अवस्थामा दुवै संरचना खारेज गर्दै नयाँ निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
यसअघि नगर कमिटी विवादमा एक पक्षलाई जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठको साथ थियो भने अर्को पक्षलाई जिल्ला उपाध्यक्ष, सचिव र उपसचिवसहितका पदाधिकारीहरूको समर्थन प्राप्त थियो । आन्तरिक असमझदारी चुलिँदै जाँदा नगरस्तरका पार्टी गतिविधि प्रभावहीन बन्दै गएका थिए ।
आपसी सहमतिपछि माधवप्रसाद नेपाल र बमबहादुर तामाङ नेतृत्वका दुवै समानान्तर कमिटी विघटन गरिएको छ । त्यसपछि आङ्गदोर्जे शेर्पाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । नवगठित कमिटीले शनिबार बैठक बसेर चुनाव केन्द्रित कार्ययोजना समेत तय गरेको संयोजक शेर्पाले जानकारी दिएका छन् ।
शेर्पा यसअघि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष सांसद उम्मेदवारका रूपमा सिफारिसमा परेका थिए । तर पार्टीका अग्रज नेताहरूप्रति सम्मान जनाउँदै उनले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका थिए । “व्यक्ति भन्दा पार्टी र सूर्य चिन्ह ठूलो हो,” उनले भने, “एमालेको विजय सुनिश्चित गर्न म पूर्ण रूपमा लाग्नेछु।”
बैठकमा सहभागी दुवै पक्षका नेताहरूले अब विगतका मतभेद भुलेर एमालेको जितका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर कमिटीको विवाद टुंगिएसँगै बाह्रबीसेमा एमाले संगठन पुनः चलायमान हुने विश्वास गरिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.