४ माघ २०८२, शनिवार

इन्द्रावती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

माघ ३, इन्द्रावती । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा ७औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आजबाट औपचारिक रूपमा प्रारम्भ भएको छ। वडा नं. १० मा अवस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरिएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गमलामा पानी हाल्दै प्रतियोगिताको शुभारम्भ गर्नुभयो। सो अवसरमा मन्तव्य राख्दै अध्यक्ष नेपालले शिक्षा र खेलकुद एक–अर्कासँग गहिरो रूपमा जोडिएका क्षेत्र भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासका लागि पठनपाठनसँगै खेल गतिविधि अनिवार्य रहेको बताउँदै पालिकाले यी दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष शशिनाथ आचार्यले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेमको भावना विकास गराउने बताउनुभयो। उहाँले पालिकाले शिक्षा र खेलकुद क्षेत्रको गुणस्तर वृद्धिका लागि योजनाबद्ध ढंगले लगानी गरिरहेको जानकारी पनि दिनुभयो।

यसैगरी वडा नं. २ का अध्यक्ष श्यामबहादुर गिरीले शुभकामना मन्तव्य दिँदै खेलकुदमार्फत गाउँपालिकाको पहिचान देशभर फैलाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। आफू स्वयं खेलाडी पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उहाँले खेलक्षेत्रमा समर्पित युवाप्रति सम्मान व्यक्त गर्नुभयो।

माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इन्द्रावती गाउँपालिका अन्तर्गतका १२ वटा माध्यमिक विद्यालयहरूको सक्रिय सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, दौड, एथलेटिक्सलगायत विभिन्न खेल विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने जानकारी आयोजक विद्यालयका प्रधानाध्यापक शिवराम न्यौपानेले दिनुभयो। यस प्रतिस्पर्धाबाट छनोट हुने उत्कृष्ट खेलाडीहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार थापामगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहायक प्रधानाध्यापक रामशरण भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो। समारोहमा विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, खेलप्रेमी दर्शक तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.