१६ मंसिर २०८२, सोमवार

कुमारी बैंकको आर्थिक अगुवाइमा नारखोला जलविद्युत आयोजना बन्ने

अमर बडुवाल, १५ मंसिर , काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना निर्माणका लागि सोमवार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

 मनाङ्स्थित  नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरि ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत आयोजना निर्माण गरिनेछ ।

आयोजनाको प्रबर्द्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रा.लि.ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक , एन आइ सी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी  सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।  नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र बार्षिक  ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन  हुनेछ । आयोजनाले वार्षिक २ अर्ब १० करोड रुपैयाँको विद्युत विक्री गर्नेछ । ६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन् । आयोजनाको हेडरेस टनेल करिब  ८ किलोमिटर लम्बाइको रहनेछ ।

आयोजनाको बाँधका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह नासो गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ । 

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकको कर्जा  ९ अर्ब ६३ करोड रुपैयाँ र स्वपुजी ३ अर्ब २१ करोड रुपैयाँ लगानी हुनेछ । स्वपूँजीमा सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र ३ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरु गरेर आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.