सिन्धुपाल्चोक । नेपाली लेखक सङ्घ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अभिव्यक्ति स्वतन्त्रता, लेखकीय अधिकार र लोकतन्त्रको पक्षमा उभिन आह्वान गरेको छ। सङ्घले देशमा बढ्दो नकारात्मक भाष्य, विद्वेषपूर्ण राजनीति र भ्रम फैलाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै आम नागरिकलाई सचेत गराउन कवि, लेखक तथा बुद्धिजीवी वर्गको विशेष भूमिका रहने जनाएको छ।
सङ्घले लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि नेपाली कांग्रेस को नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा उक्त पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभरका साहित्यकार तथा बुद्धिजीवीलाई सक्रिय हुन हार्दिक अपिल गरेको छ।
सिन्धुपाल्चोकको चुनावी कमान्डर नविन श्रेष्ठ यसैक्रममा सङ्घले सिन्धुपाल्चोक जिल्लाका लागि सङ्घकै जिल्ला अध्यक्ष नविनबहादुर श्रेष्ठलाई “सिन्धु कमाण्डर” नियुक्त गरेको जनाएको छ। सङ्घका सचिवालय सदस्य सन्तोष बोहराका अनुसार अभिव्यक्ति स्वतन्त्रता, लेखक अधिकार र लोकतन्त्रको रक्षाका लागि वि.सं. २००८ सालमा स्थापना भएको सङ्घ नेपालकै सबैभन्दा पुरानो साहित्यिक संस्था हो।
नवनियुक्त सिन्धु कमाण्डर श्रेष्ठले लोकतन्त्र, लेखनी स्वतन्त्रता र स्थापित मूल्य–मान्यताको संरक्षणका लागि साहित्यकारहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले भ्रम र दुष्प्रचारको खेती चिर्दै सही मार्ग देखाउन स्रष्टा वर्गको महत्वपूर्ण भूमिका रहने बताएका छन्।
सङ्घले सिन्धुपाल्चोक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न समेत आह्वान गरेको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.