काठमाडौं , फागुन १० । अरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवस, विशिष्ट व्यक्तित्व सम्मान तथा “अरुणिमा स्मारिका अङ्क–८” विमोचन कार्यक्रम सम्पन्न भएको छ। अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित उक्त विद्यालय काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध–कुमारीगालमा अवस्थित छ।
कार्यक्रम वरिष्ठ चित्रकार हरिप्रसाद शर्माको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सञ्चालन गरिएको थियो। विद्यार्थीहरूद्वारा शान्ति–स्वस्तिवाचन पश्चात् प्रमुख अतिथि, सभाध्यक्ष, संरक्षक, कार्यकारी प्रिन्सिपल तथा अन्य विशिष्ट अतिथिहरूको संयुक्त दीप प्रज्वलनसँगै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो। कक्षा १० की हेड गर्ल सुवास्ना सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै अतिथि, अभिभावक तथा उपस्थित सबैलाई हार्दिक अभिनन्दन गर्नुभएको थियो।
नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नृत्य, गीत, नाटक, योग प्रदर्शन, चिनियाँ सांस्कृतिक नृत्य, स्काउट पिरामिड, तेक्वान्दो लगायत विविध सन्देशमूलक प्रस्तुति दिएका थिए। सामाजिक, सांस्कृतिक र मानवीय संवेदनालाई समेटेका यी कार्यक्रमहरू हेर्न दुई हजारभन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले वार्षिक शैक्षिक, प्रशासनिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
यस अवसरमा प्रतिष्ठानका संरक्षक बुद्धिबहादुर (अमिर) थापा, नेपाल सरकारका पूर्व सहसचिव विश्वनाथ अर्याल तथा समाजसेवी शताब्दी पुरुष नारायणप्रसाद लामिछानेलाई विशिष्ट व्यक्तित्व सम्मान प्रदान गरिएको थियो। साथै विद्यालय परिवारद्वारा प्रकाशित “अरुणिमा स्मारिका अङ्क–८” को लोकार्पण समेत सम्पन्न गरियो, जसमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्जकहरूका विविध विधाका रचनाहरू समेटिएका छन्।
कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले स्मारिकामा समावेश सामग्रीबारे जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्नुभयो। सम्मानित व्यक्तित्व विश्वनाथ अर्यालले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गरिरहेका रचनात्मक प्रयासहरूको सराहना गर्नुभयो। प्रमुख अतिथि हरिप्रसाद शर्माले विद्यार्थीहरूको प्रतिभाशाली प्रस्तुतिले विद्यालयको गरिमा अभिवृद्धि गरेको बताउँदै सक्रिय र सचेत जीवनशैली अपनाउन प्रेरणा दिनुभयो।
अध्यक्ष भीमानन्द ढुङ्गानाले विद्यालयको उन्नतिमा गुठियार, सल्लाहकार, शिक्षक–कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि पूर्वाधार विकासमा प्रतिष्ठान निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्त्यमा उहाँले सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै समारोहको समापन गर्नुभयो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.