२६ माघ, काभ्रेपलाञ्चोक । न्यायप्रेमी काभ्रेली आमा–बुबा, दिदीबहिनी, दाजुभाइ एवं पेशा, व्यवसायमा संलग्न सम्पूर्ण नागरिकहरूमा हार्दिक अभिवादन ।
सुशासनको सुनिश्चितता, भ्रष्टाचारको अन्त्य र योग्यतामा आधारित प्रणालीको थप सुनिश्चितता तथा सामाजिक न्याय जस्ता आम सरोकारका विषयसँग सम्बन्धित मागसहित वि.सं. २०८२ भदौ २३ मा सुरु भएको आन्दोलन भदौ २४ सम्म पुग्दा अप्रत्याशित रूपमा हिंसात्मक, ध्वंसात्मक, अनियन्त्रित र भयावह बन्न पुग्यो। यही भयावह स्थितिको परिणामस्वरूप उत्पन्न विशेष परिस्थितिका कारण अनेक प्रतिकूलताका बाबजुद पनि देश प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ। यो निर्वाचन कुनै संवैधानिक वा कानुनी व्यवस्थाअनुरूपको नियमित निर्वाचन नभई तत्कालीन आवश्यकताले सिर्जना गरेको असामान्य अवस्थाको जनमतबाट निरूपण गर्नुपर्ने अति विशेष महत्वको विषय हो।
मिति २०८२ फागुन २१ मा हुन गइरहेको निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्र नबुझेर जनमतको बलबाट संघीय लोकतान्त्रिक गणतन्त्रको समयसापेक्ष संस्थागत विकास, नेपाली स्वाभिमान र राष्ट्रियताको सुदृढीकरण, पुनरुत्थानवादी शक्तिहरूको अवाञ्छित फन्कोको जनमतबाट वैधानिक व्यवस्थापन, पुराना राजनीतिक दलहरूले बिराउँदै गएको बाटो, भुल्दै गएको गन्तव्य र खेरो बनाउँदै लगेको मूल्य–मान्यताको खरो स्मरण तथा शान्तिपूर्ण लोकतान्त्रिक मार्गबाटै समृद्धि हासिल गर्न सकिने मान्यता स्थापित गर्ने विशेष अवसरका रूपमा ग्रहण गरिनु पर्दछ।
देशका अन्य जिल्लाहरूमा झैं काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचनको माहोल दिनानुदिन उत्साहित हुँदै गएको छ। यसै माहोलमा जिम्मेवार नागरिकको हैसियतले मतदानमा पनि महानदान मानिने मतदानमा सक्रियताका साथ जुटेर विवेक प्रयोग गर्दै मतदान प्रक्रियामा सहभागी हुन सम्पूर्ण वयस्क काभ्रेलीजनमा यो परिषद् हार्दिक अपिल गर्दछ। यहाँहरूको निर्वाचनप्रतिको चासो, चिन्ता, जागरूकता, सक्रिय सहभागिता र निष्ठासहितको विवेकपूर्ण मतदानले नेपाली जनताले तिरस्कार गरिसकेको निरङ्कुश शक्तिको पक्षपोषण गर्ने पुनरुत्थानवादीको छातीमा ढ्याङ्ग्रो ठोक्नेछ। लोकतन्त्र स्थापनाका लागि जीवन आहुति दिने शहीदहरू र जीवनमरणको लडाइँ लड्ने सपुतहरूको आत्मालाई शान्ति मिल्नेछ। जनबलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले दीर्घजीवन प्राप्त गर्नेछ।
मतदानमार्फत तपाईंले व्यक्त गर्नु भएको देश र जनताप्रतिको गहिरो चासो र चिन्तालाई भविष्यमा लेखिने इतिहासका पानाले स्वर्णिम अक्षरमा अंकित गर्नेछ। तपाईं–हाम्रो भावी पुस्ताले देशमै गरिखाने अवसर सिर्जना गर्न योगदान पुग्नेछ। अतः जस्तोसुकै अवस्थामा पनि एक जिम्मेवार नागरिकको राष्ट्रप्रतिको कर्तव्य सम्झेर अत्यन्त सुझबुझका साथ मतदानमा सहभागी हुन सादर अनुरोध छ। साथै सरकारसमक्ष पनि यो ऐतिहासिक महत्वको निर्वाचनलाई भयमुक्त वातावरणमा अधिकाधिक मतदाताको सक्रिय सहभागितामा शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष ढंगले सम्पन्न गर्न माग गर्दछौं।
जहानिया निरङ्कुश राणा शासन, एकदलीय निरङ्कुश पञ्चायती कालरात्रि र पछिल्लो दशकको कहालीलाग्दो सशस्त्र विद्रोह र छिमेकीहरूको अनेक पटकको हस्तक्षेप चिर्दै नेपाली जनता सार्वभौम हुने संघीय लोकतान्त्रिक व्यवस्था कठिन संघर्षबाट स्थापित भएको हो। सरकार सञ्चालन अझ विशेष गरी गठबन्धन सरकार सञ्चालनका क्रममा जनताप्रतिको जवाफदेहितामा दलहरूबाट केही कमजोरी भए पनि संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाभन्दा उत्कृष्ट व्यवस्था अर्को हुन सक्दैन।
व्यक्ति जतिसुकै योग्य, सक्षम र भव्य भए पनि उसका अनेक मानवीय सीमाहरू हुन्छन्। बलियो जनाधार तथा प्रभावकारी संगठनबिना व्यक्तिमात्रले बहुदलीय शासन प्रणालीमा अपेक्षित योगदान गर्न सम्भव र व्यवहारिक दुवै हुँदैन। दललाई बेवास्ता गरी व्यक्तिलाई अवाञ्छित रूपमा देवत्वकरण गर्दै जाँदा कालान्तरमा व्यक्तिवादिता र निरङ्कुशताको पुनरावृत्ति हुने खतरा रहन्छ।
वि.सं. २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलाल, जननिर्वाचित पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं सामाजिक सुरक्षा कार्यक्रमका सूत्रधार क. मनमोहन अधिकारी तथा जननेता क. मदन भण्डारीको विचार र विरासत बोकेको नेकपा (एमाले) नेपाली जनताको प्रिय पार्टी हो। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यसहित पार्टी निरन्तर जनसेवामा जुटिरहेको छ।
यस पटकको निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. २ मा क. अशोक व्याञ्जू र क्षेत्र नं. १ मा क. अमित लामा उम्मेदवार रहनुभएको छ। राजनीति जनसेवा र समृद्धिको माध्यम हो भन्ने मान्यतासहित उहाँहरू योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ।
लोकतन्त्रको सौन्दर्य नै आवधिक निर्वाचन हो। यस अवसरमा सम्पूर्ण मतदाताले देश, समाज र भविष्यलाई ध्यानमा राखी विवेकपूर्ण मतदान गर्नु आवश्यक छ। राष्ट्रियता, सुशासन, विकास, सामाजिक न्याय र जनकल्याणका लागि सूर्य चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछौं।
अन्त्यमा, शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्दै सम्पूर्ण मतदाताहरूलाई लोकतन्त्र सुदृढीकरणका लागि सक्रिय सहभागिताको हार्दिक अनुरोध गर्दछौं । धन्यवाद, अध्यक्ष केसब थापा
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.