२७ माघ २०८२, सोमवार

किसानका समस्या संसदसम्म बोकेर जाने प्रतिनिधि बन्छु :  बर्तौला

२६ माघ, हेटौंडा, मकवानपुर । नेकपा (एमाले) मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू किसानका आवाज र पीडालाई नीति निर्माणको केन्द्रसम्म पुर्‍याउने माध्यम बन्ने स्पष्ट गर्नुभएको छ। चुनावी अभियान अन्तर्गत सोमबार मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाट गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

बर्तौला बिहानैदेखि मकवानपुरगढी–५ र ६ अन्तर्गत डुम्रेकुना, झल्ला, बुँदल, धादिङ, भालुखोला, बागदली र ज्यामिरे क्षेत्र पुग्नुभयो। स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उहाँले उनीहरूको समस्या सुन्नुका साथै आगामी कार्यदिशाबारे जानकारी दिनुभयो। एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार बर्तौलाले आफ्नो अघिल्लो ३२ महिनाको संसदीय कार्यकालमा मल, बीउ, तरकारीको मूल्य, खसीबोका बजारिकरण तथा दुग्ध किसानको भुक्तानी जस्ता विषयमा संसदमा निरन्तर आवाज उठाउनुभएको थियो।

कार्यक्रममा मकवानपुरगढी–६ का पूर्व वडा अध्यक्ष टीका दाहालले सामरी बस्तीको सुरक्षा, अस्पतालको प्रभावकारी व्यवस्थापन र शीतभण्डार सञ्चालनमा बर्तौलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो। यसैगरी, गाउँपालिकाका पूर्व अध्यक्ष विदुर हुमागाईंले सामरी पुलदेखि डुम्रेकुनासम्मको सडक निर्माणमा बर्तौलाको योगदानको प्रशंसा गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा उहाँलाई विजयी गराउन आग्रह गर्नुभयो।

स्थानीय नानीराम तिमल्सिनाले बर्तौला दोहोरो स्नातकोत्तर र अधिवक्ता समेत भएकाले कानुन निर्माणमा सक्षम र योग्य उम्मेदवार भएको बताउनुभयो। कार्यक्रममा समानुपातिक उम्मेदवार मेम्बर लो तामाङले आफ्नो जन्मथलोबाट उम्मेदवार बन्न पाएकोमा खुसी व्यक्त गर्दै सूर्य चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो।

उम्मेदवार बर्तौलाले शिक्षा र पूर्वाधार क्षेत्रमा आफूले अघि बढाएका योजनाहरूको विवरण पनि प्रस्तुत गर्नुभयो। जाल्पा देवी माध्यमिक विद्यालय भवन निर्माणका लागि १ करोड ६२ लाख, १७ करोड लागतको मकवानपुरगढी बृहत् खानेपानी आयोजना तथा सरङ्गपुरमा १४ करोडको पक्की पुल निर्माण आफ्नै पहलमा अघि बढेको उहाँको भनाइ थियो। आगामी दिनमा सामरी खोलाको तटबन्धन र अधुरा योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै उहाँले एमालेको पक्षमा मतदान गर्न सबैसँग अपिल गर्नुभयो।

कार्यक्रममा नवराज तिमल्सिना ‘कमरेड आशिष’, भगवती पुडासैनी, रामजी सापकोटा, विष्णु सिलवाल लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.