२६ माघ २०८२, आइतवार

फेरि संसदमा पुगेर बाँकी कानुन निर्माण गर्छु : शेरबहादुर तामाङ

२५ माघ , काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर तामाङले पुनः सांसद निर्वाचित भए आफूले अधुरा छोडेका कानुन निर्माणका कामहरूलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जोरपाटीस्थित नारायणटारमा आयोजित उम्मेदवार–मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले आगामी संसदमा आफ्नो प्राथमिकता स्पष्ट गर्नुभएको हो।

उहाँले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कानुन, राज्यले स्वदेश तथा विदेशबाट सामग्री खरिद गर्दा आउने कमिसन व्यक्तिगत खातामा नभई सरकारी खातामै जम्मा हुने व्यवस्था गर्ने कानुनी संरचना, तथा आफूले अघि सारेका तर पूरा हुन नसकेका योजनाहरू कार्यान्वयन गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो। साथै, जेन्जी आन्दोलनको भावना सम्बोधन गर्न समेत पहल गर्ने उहाँको भनाइ थियो।

उक्त विचार माघ २४ गते सिन्धुपाल्चोक–काठमाडौं क्षेत्र नं. २ क्षेत्रीय सम्पर्क मञ्चले छिमेकी पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा व्यक्त गरिएको हो। कार्यक्रममा काठमाडौंमा अस्थायी रूपमा बसोबास गरिरहेका सिन्धुपाल्चोकका मतदाताहरूसँग उम्मेदवार तामाङले प्रत्यक्ष संवाद गर्नुभएको थियो।

एमाले नेता इञ्जिनियर गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजन आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पर्क मञ्चकी नेतृ राधा सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा एमाले केन्द्रीय सचिव राजन भट्टराई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुबास कर्माचार्य, केन्द्रीय सदस्यद्वय हस्त पण्डित र डोल्मा तामाङ, केन्द्रीय अनुशासन आयोगका पूर्व सदस्य डम्बर अर्याल, बागमती प्रदेश कमिटी सचिव बालकृष्ण देउजालगायतका नेताहरूले उम्मेदवार तामाङको समर्थनमा मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा बोल्ने नेताहरूले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई विजयी गराउन संगठनका सबै तहका कार्यकर्तालाई सक्रिय रूपमा लाग्न निर्देशन दिएका थिए। उक्त जानकारी एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जाराले दिनुभयो।

सो अवसरमा एमालेका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दावा तामाङ, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधान, जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ, उपसचिव शिवहरी सापकोटा, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष सरोज मोहन लामालगायत करिब ५०० जना एमाले कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई अझै उत्साहपूर्ण बनाउन एमाले जिल्ला कमिटी सदस्य तथा जनकलाकार भिमसेन खतिवडाले सांस्कृतिक प्रस्तुतिमार्फत उम्मेदवार तामाङको पक्षमा माहोल सिर्जना गर्दै विजयी गराउन अपिल गर्नुभएको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.