२५ माघ २०८२, शनिवार

भूमिहीनका मुद्दामा फेरि पनि सक्रिय पहल गर्नेछु : महेश बर्तौला

२४ माघ, हेटौंडा, मकवानपुर । मकवानपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बर्तौलाले जिल्लामा रहेका भूमिहीन नागरिकको दीर्घकालीन समस्या समाधानका लागि आफूले अघिल्ला दिनझैं प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ। हेटौंडा उपमहानगरपालिका–११, सिमल्टारमा राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

कार्यक्रममा नेकपा एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले बर्तौलाको भूमिकाबारे जानकारी दिँदै भन्नुभयो कि उहाँले देशभर करिब १२ लाख भूमिहीनको हकहितका विषयमा संसदमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। अस्लामीका अनुसार, हाल बर्तौलाकै पहलमा भूमि समस्या समाधान आयोग गठन भई कार्य अघि बढिरहेको छ र नीतिगत जटिलता आए संसदबाट समाधान गरिनेछ भन्ने उहाँको स्पष्ट अडान रहेको छ।

त्यसैगरी भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले सिमल्टार तथा आसपासका बस्तीहरू निकुञ्जको बफर जोनमा परेकै कारण लामो समयदेखि समस्यामा परेको उल्लेख गर्नुभयो। उहाँले बर्तौलाको सक्रियतामै निकुञ्जसम्बन्धी अवरोध हटाई लालपुर्जा वितरण गर्न अध्यादेश ल्याइए पनि राजनीतिक हस्तक्षेपका कारण त्यो प्रक्रिया रोकिएको दाबी गर्नुभयो।

अध्यक्ष बलका अनुसार वडा कार्यालयमार्फत ५५० भन्दा बढी भूमिहीनका निवेदन नगरपालिकामा पठाइसकिएको छ। “नगरपालिकाबाट निर्णय भएर आयोगमा फाइल आयो भने, म जिम्मेवारीका साथ भन्छु— भूमिहीनलाई लालपुर्जा दिएरै छाडिन्छ,” उहाँले दृढता व्यक्त गर्नुभयो।

कार्यक्रममा मनहरी, भीमफेदी तथा हेटौंडाका सिमल्टार क्षेत्रका भूमिहीनहरूको समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायले ढिलाइ नगरी काम गर्नुपर्नेमा जोड दिइयो।

यसैबीच, सूर्य चिन्हबाट उम्मेदवार बर्तौलाले आजै हेटौंडा–११ को नवलपुर क्षेत्र र वडा नं. ३ बसामाडीमा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागिता जनाउनुभएको छ। बसामाडीस्थित सम्पर्क कार्यालयको उद्घाटन ९३ वर्षीया गोरीमाया लामाले गर्नुभएको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.