२४ माघ, काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ काठमाडौं सम्पर्क मञ्चको चुनावी परिचालन भेला आज शनिबार काठमाडौंको शान बैक्वेटमा सम्पन्न भएको छ।
भेलामा नेकपा एमालेका पूर्व पोलिटब्यूरो सदस्य अरुण नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य, सिन्धुपाल्चोक–१ का उम्मेदवार एवं पूर्व केन्द्रीय सदस्य सरेश नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक कमल नेपाल, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, साथै काठमाडौं सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष द्वारिका प्याकुरेलले गर्नुभएको थियो भने सञ्चालन उपसचिव कृष्ण नेपालले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष मदन चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो। साथै, पिस्कर काण्डमा जेल जीवन बिताएका भूपेन्द्र लामालाई विशेष सम्मान गरिएको थियो।
शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि अरुण नेपालले जीवित पार्टीमा विवाद, अन्तरसंघर्ष र गुटबन्दी हुनु स्वाभाविक भएको उल्लेख गर्दै ती सबै एमालेलाई अझ बलियो बनाउनकै लागि भएको बताउनुभयो। उम्मेदवारको टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि त्यसको समीक्षा चुनावपछि गरिने र अहिले सबै एकढिक्का भएर चुनाव जित्न लाग्नुपर्ने उहाँको भनाइ थियो। उहाँले एमाले राष्ट्रियता, स्वाधीनता र जनजीविकाको पक्षमा दृढ रूपमा उभिएको पार्टी भएकाले यसपटक चुनाव जित्नै पर्ने आवश्यकता औंल्याउनुभयो।
विशेष अतिथि तथा सिन्धुपाल्चोक–१ का उम्मेदवार सरेश नेपालले एमालेले मूलभूत राष्ट्रिय मुद्दाहरू अघि सारेको र राष्ट्रिय राजनीतिमा स्थायित्व ल्याउने अभियानमा रहेको बताउनुभयो। उहाँले नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। जेन्जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै त्यसमा भएको घुसपैठ र देश ध्वस्त पार्न खोज्ने तत्वप्रति गम्भीर असहमति रहेको उहाँले बताउनुभयो।
एमालेले लामो समयदेखि सिन्धुपाल्चोक–१ बाट संघीय संसदमा प्रतिनिधित्व गर्न नपाउँदा जिल्लाको विकास प्रभावित भएको उल्लेख गर्दै उहाँले आफू जिविस सभापति हुँदा सुरु गरेका कतिपय विकास योजनाहरू तत्कालीन प्रतिनिधिकै कारण अवरुद्ध भएको आरोप लगाउनुभयो। यसअघि एमालेको मतबाट निर्वाचित भएर पार्टी विभाजनमा भूमिका खेलेको, गुठी जग्गालाई रैकर बनाउने कार्यको विरोध सिन्धुपाल्चोककै प्रतिनिधिबाट भएको र निर्वाचित सांसदहरूले दलीय स्वार्थ मात्र पूरा गरेको उहाँको भनाइ थियो। “सिन्धुपाल्चोकमा के–कस्ता सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा जनतामाझ व्यापक छलफल गरिनेछ,” उहाँले भन्नुभयो।
नाकाबन्दीको सामना गर्ने, भूकम्पपछिको पुनर्निर्माण गर्ने, जनताको पक्षमा उभिने र सीमा मिचिँदा स्पष्ट रूपमा बोल्ने पार्टी एमाले भएकाले यसपटक चुनाव जित्नै पर्ने उहाँको जोड थियो।
सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको यस भेलाले जिल्लाका दुवै निर्वाचन क्षेत्र एमालेले जित्ने स्पष्ट सन्देश दिएको बताउनुभयो। उहाँले अब एमालेले फागुन २१ गतेदेखि घर–घर पुग्ने अभियान सञ्चालन गर्ने र एमालेलाई जित्नबाट रोक्ने क्षमता कसैसँग नरहेको दाबी गर्नुभयो। सिन्धुपाल्चोकका सबै गाउँबस्तीमा एमालेका कमिटी गठन भइसकेको र मतदाता एमाले जिताउन उत्साहित रहेको उहाँको भनाइ थियो।
बाह्रबिसे नगर कमिटी निर्वाचन परिचालन कमिटीका संयोजक आङदोर्जे शेर्पाले सिन्धुपाल्चोक–१ मा एमाले विजयी भए मात्र विकास निर्माणले गति लिने बताउनुभयो। तातोपानी नाका व्यवस्थित गर्न नीति निर्माण तहमा प्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै उहाँले तातोपानी नाका व्यवस्थित भए चीन–नेपाल–भारत व्यापार विस्तार भई नेपालीले ठूलो आर्थिक लाभ लिन सक्ने बताउनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौता भएको र त्यसअनुसार काम भए नेपाली अर्थतन्त्र बलियो बन्ने उहाँको भनाइ थियो।
बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निम्फुन्जो शेर्पाले एमाले छाडेकोमा दुःख व्यक्त गर्दै उहाँको उज्ज्वल भविष्यको कामना गरिएको बताइएको छ। बाह्रबिसे–६ का एमाले कार्यकर्ताहरूले ङिमपासाङ शेर्पाले देखाएको बाटो नै सही भएको भन्दै एमालेमै रहने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा एमाले केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा जिल्ला कमिटी सिन्धुपाल्चोककी उपसचिव सुशीला पाखृनले पार्टी छाडेर गएका कमरेडहरूलाई शुभकामना दिँदै एमाले कार्यकर्तालाई कसैले धम्की दिए कडा प्रतिवाद गरिने चेतावनी दिनुभयो। उहाँले एमाले कार्यकर्तालाइ नडराई चुनावी मैदानमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभयो।
निर्वाचन परिचालन कमिटीका संयोजक कमल नेपालले घर–घरमा पुगेर भोट माग्न, जनताका गुनासो सुनेर समाधानतर्फ लाग्न सबै नेता–कार्यकर्तालाई अनुरोध गर्नुभयो। एमाले सरकार हुँदा संघ, प्रदेश र स्थानीय तहमा भएका कामलाई आधार बनाएर जनतासँग मत माग्नुपर्ने उहाँको भनाइ थियो। एमालेभित्र देखिएका अन्तरविरोध र गुटबन्दी पार्टीलाई अझ एकताबद्ध र बलियो बनाउनकै लागि भएको उहाँले स्पष्ट पार्नुभयो। निम्फुन्जो शेर्पाले एमाले छाड्नु उहाँको राजनीतिक दुर्घटना भएको टिप्पणी गर्दै त्यसको राजनीतिक ‘शोधभर्ना’ बाह्रबिसेबाटै हुने दाबी गर्नुभयो।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीबाट एमालेमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई प्रमुख अतिथि अरुण नेपालले स्वागत गर्नुभएको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.