२४ माघ २०८२, शुक्रवार

राक्सिराङ्गमा विकासको मूल आधार शिक्षा,  गरिबीका कारण जेल परेकालाई राहत दिनुपर्छ - बर्तौला

 २३ माघ, हेटौंडा, मकवानपुर । नेकपा (एमाले) का केन्द्रीय नेता तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश कुमार बर्तौलाले राक्सिराङ्गको दिगो विकासका लागि लागुऔषधको विकल्पमा शिक्षा र चेतनाको विस्तार अपरिहार्य रहेको बताउनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राक्सिराङ्ग गाउँपालिका–७ जुरेथुम घैयाबारीमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै बर्तौलाले संसदमा पुगेपछि जनताको आवश्यकतालाई केन्द्रमा राखेर कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अघिल्लो कार्यकालमा पनि जनजीविकासँग जोडिएका विषयहरू संसदमा उठाएको स्मरण गर्दै आगामी दिनमा सडक, पुल, खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

बर्तौलाले चितवनको भण्डाराबाट राक्सिराङ्ग हुँदै धादिङ जोड्ने चेपाङ मार्ग र ग्याक्पती तथा सिलिङ्गे खानेपानी आयोजना पूरा गर्न पहल गर्ने योजना सार्वजनिक गर्नुभयो । एमालेका निर्वाचन फोकल पर्सन आशिष् अस्लामीका अनुसार बर्तौलाले विगतमा बजेट सुनिश्चित गरिएका केही योजनाहरू सरकार परिवर्तन र राजनीतिक अस्थिरताका कारण कार्यान्वयन हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

राक्सिराङ्गमा व्याप्त गरिबीको अवस्थामाथि टिप्पणी गर्दै बर्तौलाले दैनिक जीविकोपार्जनका लागि भारी बोक्ने क्रममा कानुनी झमेलामा परेर जेल जीवन बिताइरहेका स्थानीयलाई मुक्त गरिनुपर्ने माग गर्नुभयो । उहाँले गरिबी नै त्यस्तो अवस्थाको मुख्य कारण भएको उल्लेख गर्दै अब यस क्षेत्रमा लागुऔषध होइन, शिक्षा र चेतनाको बीउ रोप्नुपर्नेमा जोड दिनुभयो । साथै, लंका र भिम्बुङ्ग क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि उहाँले अघि सार्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य तथा एमाले नेता राजाराम स्याङतानले जात र धर्मका नाममा समाजमा विभाजन ल्याउने प्रयासप्रति सचेत रहन आग्रह गर्नुभयो । नेता गोविन्दराम चेपाङ्गले चेपाङ्ग भाषामै सम्बोधन गर्दै एमालेकै पहलमा यस क्षेत्रमा विद्युत्, स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम भएको दाबी गर्नुभयो ।

महिला नेतृ राममायाँ प्रजाले एमालेका संगठित कार्यकर्ता एकताबद्ध रहेको र निर्वाचनमा विजय हासिल गर्ने दृढ विश्वास व्यक्त गर्नुभयो । राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष रोहन लामाले बर्तौलालाई जनताको सुख–दुःखमा सधैं साथ दिने नेता भएको बताउनुभयो ।

भेलाअघि उम्मेदवार बर्तौलाले एमाले राक्सिराङ्ग गाउँ कमिटी सचिव कमल मुक्तानकी दिवंगत आमाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसपछि उहाँले मतदाता भेटघाट कार्यक्रमलाई थप तीव्र बनाउनुभएको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.