२१ माघ भीमफेदी मकवानपुर । नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बर्तौलाले भीमफेदी क्षेत्रमा चुनावी अभियानलाई व्यापक बनाउँदै लैजानुभएको छ । सोही क्रममा बुधबार भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा रास्वपा परित्याग गरी एक दर्जन कार्यकर्ता पुनः एमालेमा फर्किएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भई एमाले प्रवेश गर्नेहरूमा शेरबहादुर मुक्तान, चन्द्रबहादुर स्याङतान, रमाकान्त नेपाल, कमलबहादुर रेग्मी, सुमन थिङ लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरू रहेका छन् । कार्यक्रममा उम्मेदवार बर्तौलाले उनीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा योजना पूरा गर्न पुनः जनसमर्थन आवश्यक रहेको बताउनुभयो ।
स्थानीयसँगको संवादका क्रममा बर्तौलाले आफ्नो अघिल्लो कार्यकाल समयमै पूरा हुन नसकेको विषय उठाउनुभयो । संसद विघटनका कारण निर्धारित ६० महिनामध्ये ३२ महिनामै जिम्मेवारी अन्त्य भएको स्मरण गराउँदै उहाँले बाँकी समय सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो । उहाँले २०७९ को जनमत र प्राकृतिक न्यायको आधारमा पनि अधुरा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विविध समस्या उठाएका थिए । गुणप्रसाद पुडासैनीले बाँदरको आतंकले गाउँ खाली हुने अवस्था आएको भन्दै दीर्घकालीन समाधानको माग गर्नुभयो । छविलाल पुडासैनीले नेपाललाई हिन्दु राष्ट्रका रूपमा कायम राख्नुपर्ने धारणा राख्दै गाईको मासु सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । त्यसैगरी सूर्यबहादुर ब्लोनले पुस्तौँदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको गुनासो गर्दै भूमि आयोगको कामलाई छिटो अघि बढाउन अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले भीमफेदी उपसचिव आशिष अस्लामीले बर्तौलाको अघिल्लो कार्यकाल प्रभावकारी रहेको दाबी गर्नुभयो । उहाँका अनुसार बर्तौलाले संसदमा भूमिहीन, शिक्षा, टीआरसी विधेयक तथा दुग्ध किसानका मुद्दामा सशक्त भूमिका खेलेका थिए । दुई विषयमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका बर्तौलाको पहलमै बकैया क्षेत्रका धेरै भूमिहीनले पुर्जा पाएको उहाँले उल्लेख गर्नुभयो ।
एमाले बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनीले गत भदौ २३ र २४ गते भएको आगजनी र तोडफोडको घटनालाई स्मरण गर्दै राष्ट्रियता तथा शान्ति सुरक्षाको लागि एमाले उपयुक्त विकल्प भएको बताउनुभयो ।
त्यसैगरी भीमफेदी–५ का वडा अध्यक्ष जहारसिं लामाले बाँदर समस्याबाट जोगिन बाँदरले नखाने बाली, जस्तै टिमुर खेतीतर्फ ध्यान दिन सुझाव दिनुभयो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.