माघ १६, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) ले संगठनात्मक गतिविधि तीव्र बनाएको छ। यही क्रममा आज काठमाडौंको कलंकीमा एमाले थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहद् भेला सफलतापूर्वक सम्पन्न भएको छ।
भेलाबाट विजय विक्रम श्रेष्ठको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिलाई काठमाडौंमा रहेका थाहा नगरपालिकाका मतदातासँग सहकार्य गर्दै एमालेको पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले यो उपनिर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई देशको राजनीतिक भविष्यसँग जोडिएको महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। उहाँले काठमाडौंमा बसोबास गरिरहेका सम्पूर्ण थाहावासीलाई एमालेको सन्देश गाउँगाउँसम्म पुर्याउने अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो।
“यो एक सिटको जित–हारको विषय होइन, यो विकास, स्थायित्व र सही नीतिको यात्रालाई निरन्तरता दिने लडाइँ हो,” बर्तौलाले भन्नुभयो, “त्यसैले हरेक कार्यकर्ता र शुभेच्छुक अहिलेबाटै एमालेको पक्षमा जनमत विस्तारमा लाग्नुपर्छ।”
एमाले मकवानपुर–२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार भेलामा थाहा नगरपालिकाबाट विभिन्न पेशा तथा व्यवसायका कारण काठमाडौंमा बसोबास गरिरहेका १६० भन्दा बढी सक्रिय कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संविधानसभा सदस्य सुभाष चन्द्र ठकुरी, सम्पर्क समन्वय अध्यक्ष अशोक ठकुरी, सम्पर्क मञ्च जिल्ला अध्यक्ष चित्र पुलामी, एमाले थाहा नगर उपाध्यक्ष हेम लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
भेलाले काठमाडौंमा रहेका मतदाताहरूलाई मतदानका लागि गाउँसम्म पुर्याउने व्यवस्था मिलाउने तथा चुनावी अभियानलाई टोल–टोलसम्म विस्तार गर्ने ठोस कार्ययोजना पनि अनुमोदन गरेको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.