माघ १४, हेटौंडा, मकवानपुर
फागुन २१ गते हुन गइरहेको निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट सूर्य चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । उनी मतदाता, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी सन्देश फैलाइरहेका छन् ।
भेटघाटका क्रममा बर्तौलाले प्रतिनिधि सभाको मूल दायित्व नीति निर्माण भएको स्पष्ट पार्दै नीतिगत हस्तक्षेपमार्फत जनताका जटिल समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्याए । “सांसद भनेको नीति बनाउने जिम्मेवार व्यक्ति हो । नीति सही भयो भने समस्याको समाधान आफैं आउँछ,” उनको भनाइ थियो ।
आफ्नो ३२ महिनाको संसदीय अनुभव सुनाउँदै उनले मध्यवर्ती क्षेत्रका जंगली जनावर र मानवबीच देखिँदै आएको द्वन्द्व तथा भूमिहीन नागरिकको समस्या समाधानका लागि आफूले कानुनी तहमा पहल गरेको दाबी गरे । उनले मध्यवर्ती क्षेत्र ऐन र वन ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगे पनि संसद विघटनका कारण प्रक्रिया अलपत्र परेको उल्लेख गरे । “त्यो अधुरो कामलाई पूरा गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले बताए ।
त्यसैगरी पूर्वी राप्ती नदी, चौराह खोला र मूल खोलालगायतका स्थानमा तटबन्धन निर्माणका लागि आफूले उल्लेखनीय भूमिका खेलेको दाबी पनि उनले गरे ।
आफूलाई सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गर्दै बर्तौलाले राजनीति शास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर (डबल मास्टर्स) अध्ययन गरेको र कानुनमा स्नातक भई हाल वकालत गर्दै आएको अनुभवले नीति निर्माण र कार्यान्वयनमा आफूलाई बलियो बनाएको बताए । अघिल्लो कार्यकालमा संसदको अगाडि पंक्तिमा बसेर सक्रिय भूमिका निर्वाह गरेको अनुभव पनि उनले मतदातासँग साझा गरे ।
निर्वाचन परिचालन कमिटीका सहसंयोजक तथा संविधान सभा सदस्य राजाराम स्याङ्तानले बर्तौलाको अभियान जनस्तरमा उत्साहजनक रूपमा अघि बढिरहेको जानकारी दिए । “हामी जितको झण्डा गाडेपछि मात्र विश्राम गर्ने संकल्पका साथ अघि बढिरहेका छौं,” उनले भने ।
आज हाँडिखोलामा सम्पन्न भेटघाट कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्यहरू कृष्ण लामिछाने, लक्ष्मण उप्रेती, बीरेन्द्र डीसी, क्षेत्रीय फोकल पर्सन आशिष अस्लामी, युवा नेता बिरु मिजार, विद्यार्थी नेता प्रभाष घिमिरेलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.