१५ माघ २०८२, बुधवार

यस्तो छ महेश वर्तौलाको बिगत र वर्तमान

माघ १४, हेटौंडा, मकवानपुर  । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्राको थालनी गरेका हुन् । २०५३ सालमा मकवानपुरको कालिका मावि, नामटारमा कक्षा ७ मा पढ्दै गर्दा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीको नेतृत्वमा आएका थिए ।

अखिलको इलाका र क्षेत्रीय संरचनामा सक्रिय रहँदै उनले २०६० र २०६३ मा लगातार दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनी स्ववियु सदस्य हुँदै २०६२ र २०६५ मा सभापतिमा निर्वाचित भए ।

२०६५ सालपछि अनेरास्ववियुको केन्द्रीय नेतृत्वमा उक्लिएका बर्तौला केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यबाहक अध्यक्षसम्म पुगे । साथै, स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको राष्ट्रिय अध्यक्षका रूपमा पनि उनले भूमिका निर्वाह गरे ।

विद्यार्थी राजनीतिसँगै पार्टी संगठनमा समेत सक्रिय बर्तौला २०६३ मा एमाले जिल्ला कमिटी सदस्य बने । माओवादी सशस्त्र द्वन्द्वकालमा मकवानपुरका दुर्गम क्षेत्रहरूको जिम्मेवारी सम्हाल्दै उनले संगठन विस्तारमा काम गरे । २०७६/०७७ मा वागमती प्रदेश कमिटी उपमहासचिवको जिम्मेवारीमा रहे ।

एमाले–माओवादी एकतापछि नेकपाको केन्द्रीय सदस्य बनेका उनी २०८० मा एमालेको मनोनित र २०८२ को ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेका हुन् । २०७९ को निर्वाचनमा वरिष्ठ नेता बिरोध खतिवडालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

४२ वर्षको उमेरमै उल्लेखनीय राजनीतिक सफलता हासिल गरेका बर्तौला शैक्षिक रूपमा पनि सक्षम छन् । व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले एलएलबी समेत उत्तीर्ण गरेका छन् । संसदमा सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको भूमिका निर्वाह गरिसकेका उनी विभिन्न संसदीय समितिमा सक्रिय रहे ।

अमेरिका, बेलायत, स्विट्जरल्याण्ड, चीन र भारतलगायत देश भ्रमणमार्फत अन्तर्राष्ट्रिय संसदीय र राजनीतिक अनुभव बटुलेका बर्तौला २०८२ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट पुनः प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.