१४ माघ २०८२, मङ्गलवार

पपुलिजम र एनार्कीजम मिल्दा देश संकटमा

माघ १३, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजम एक–आपसमा मिसिँदा लोकतान्त्रिक राज्य व्यवस्थामै गम्भीर खतरा पैदा हुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार पपुलिजमले जटिल समस्यामा सजिला समाधान बेच्ने गर्छ भने एनार्किजमले राज्य व्यवस्था नै शत्रु ठान्छ। यी दुवै प्रवृत्ति एकसाथ आए राज्य कमजोर बन्ने र समाज विभाजित हुने जोखिम बढ्छ।

महासचिव पोखरेलले पपुलिजमले भावनालाई उक्साएर यथार्थलाई ओझेलमा पार्ने र एनार्किजमले संस्थागत प्रणालीमाथि नै प्रश्न उठाउने भएकाले लोकतन्त्र संकटतर्फ धकेलिन सक्ने धारणा राख्नुभयो।

उहाँले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बन्न नदिन आलोचनात्मक सोचको विकास, तथ्य र भावनाबीच स्पष्ट छुट्याउने क्षमता तथा लोकतान्त्रिक विधिमार्फत असहमति राख्ने संस्कार अपरिहार्य रहेको बताउनुभयो।

‘राष्ट्र जोगाउनु भनेको नेपाली पहिचान जोगाउनु हो, संविधान जोगाउनु भनेको समावेशिता सुरक्षित गर्नु हो, र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको देशको भविष्य सुरक्षित गर्नु हो,’ उहाँको भनाइ थियो।

महासचिव पोखरेलले वर्तमान अवस्थामा मुलुकको मुख्य चुनौती राजनीतिक अस्थिरता र सामाजिक अराजकता रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार निर्वाचन त्यही दिशामा अघि बढ्ने महत्वपूर्ण अवसर हो।

अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्दै उहाँले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था नै कमजोर बन्दै गएको बताउनुभयो। संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरू प्रभावहीन बन्दै गएका र विश्वभर सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता झन् संवेदनशील बन्दै गएको उहाँको धारणा छ।

यस्तो परिवेशमा नेपाल समयमै सचेत नभए भूराजनीतिक द्वन्द्वको चपेटामा पर्न सक्ने भन्दै उहाँले सचेतना आवश्यक रहेको जोड दिनुभयो।

‘नेपाललाई बंगलादेश वा युक्रेनजस्तो अवस्था आउन नदिनु डर देखाउनु होइन, समयमै चेतावनी दिनु हो,’ उहाँले स्पष्ट पार्नुभयो। महासचिव पोखरेलका अनुसार यस्तै चेतनाको निरन्तरता नै आजको सन्दर्भमा सच्चा देशभक्ति हो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.