१४ माघ २०८२, मङ्गलवार

विकासदूत सरेश नेपाल, समावेशी विकासको मोडलसहित सिन्धुपाल्चोक १ को चुनावी मैदानमा

माघ १३ , सिन्धुपाल्चोक

कुनै समय दुर्गम र अवसरविहीन मानिने सिन्धुपाल्चोकका गाउँहरूमा सडक, रोजगारी र स्थानीय स्रोतबाट आम्दानी सम्भव छ भन्ने आत्मविश्वास जगाउने अभियन्ता हुन सरेश नेपाल ।  उनै नेपाल अहिले सिन्धुपाल्चोक –१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

राजनीतिज्ञ सङै  सरेश नेपालको परिचय विकासकर्मी र स्थानीय शासन सुदृढीकरणका अभियन्ताका रूपमा स्थापित भएको छ । जिल्ला विकास समिति (जिविस) सिन्धुपाल्चोकमा २०४९ देखि २०५४ सालसम्म उपसभापति र २०५४ देखि २०५९ सालसम्म सभापति रहँदा उनले जिल्लाको विकास सोच र अभ्यास नै बदलिदिए । हरेक गाउँमा सडक, हरेक बस्तीमा खानेपानी, सिंचाइ, बिजुली बत्ति , रोजगारी पुर्‍याउने नेताको रूपमा सरेश नेपाललाइ चिनिन्छ । 

नेपालको नेतृत्वमा जिविसले “सडक विकास मात्रै पूर्वाधार होइन, त्यो रोजगारीको ढोका हो” भन्ने अवधारणालाई अघि बढायो ।  उनका कार्यकालमा सिन्धुपाल्चोकका अधिकांश गाउँहरू सडक सञ्जालसँग जोडिए। ती सडकहरूले बजारसम्म पहुँच मात्रै दिएनन्, स्थानीय युवालाई गाउँमै रोजगारी पनि सिर्जना गरे। गाउँमा सडक खने बापत ९ वटा सम्म मुद्दा खेप्न परेको अनुभव सरेश नेपाल सङ्ग छ ।  स्थानीय मजदुर, उपभोक्ता समिति र सहकारीमार्फत काम गराउने अभ्यासले विकासको पैसा गाउँमै घुम्यो। 

खोला–नालाबाट पनि आम्दानी सम्भव छ भन्ने प्रमाण

सरेश नेपालको अर्को महत्वपूर्ण योगदान भनेको स्थानीय स्रोत परिचालन हो। सिन्धुपाल्चोकका खोलामा रहेको गिट्टी, बालुवा र ढुंगालाई अव्यवस्थित दोहन होइन, नियमित र पारदर्शी व्यवस्थापनमार्फत आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने नीतिगत अभ्यास उनले जिविसमार्फत सुरु गरे। यसबाट जिल्लाको आन्तरिक आम्दानी उल्लेख्य रूपमा बढ्यो। जिविसको स्रोत वृद्धि भएपछि शिक्षा, स्वास्थ्य, खानेपानी र ग्रामीण सडकमा लगानी गर्न सहज भयो।

“विकास बाहिरबाट होइन, गाउँभित्रैबाट आउनुपर्छ” सरेश नेपाल भन्छन्, “विकास भनेको ठूला भाषण होइन, जनताको हातमा सीप, रोजगारी र निर्णय दिने प्रक्रिया हो। स्रोत गाउँमै छ, केवल त्यसलाई व्यवस्थापन गर्न इमानदार नेतृत्व चाहिन्छ।”

उनका अनुसार अहिलेको राजनीति पद र पहुँचको खेल बन्दै गएको छ, तर आफू अनुभव, परिणाम र विश्वासको आधारमा राजनीतिमा आएको बताए।

स्थानीय भन्छन :जनताको भरोसा र अनुभवीलाइ साथ 

“जिविसमा हुँदा उहाँले हामीलाई योजना मात्रै दिनुभएन, नयाँ सोच दिनुभयो। खोला, जंगल र सडक पनि आम्दानीका स्रोत हुन् भन्ने कुरा हामीले उहाँबाटै सिक्यौं।”

आज सिन्धुपाल्चोक–१ का धेरै बस्तीमा देखिएको सडक पहुँच, स्थानीय रोजगारी र स्रोत परिचालनको आधार सरेश नेपालको कार्यकालमै राखिएको स्थानीय बताउँछन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.