डा. टिका ढकाल, माघ ८, काठमाडौं
नेपाली राजनीतिमा सबै तुलना समान धरातलमा हुँदैनन्। केही तुलना विश्लेषणका लागि गरिन्छन्, केही भ्रमका लागि। पछिल्लो समय केपी शर्मा ओली र बालेन्द्र शाहलाई एउटै तराजुमा राखेर बहस गर्ने प्रवृत्ति देखिनु आफैंमा राजनीतिक अपरिपक्वताको संकेत हो। यो तुलना व्यक्तिको हैसियत घटाउने वा बढाउने उद्देश्यले होइन, राष्ट्रनायक र क्षणिक लोकप्रियताको राजनीतिक तौल बुझाउन आवश्यक छ। त्यसैले यो तुलना स्वाभाविक रूपमा हात्ती र कमिलाको कथा जस्तै देखिन्छ।आकारको होइन, प्रभाव, उत्तरदायित्व र ऐतिहासिक भूमिकाको हिसाबले ।
केपी शर्मा ओली नेपाली राजनीतिमा केवल एक दलका नेता मात्र होइनन्, उनी राष्ट्रनायक हुन्। उनको राजनीतिक यात्रा कुनै आकस्मिक सामाजिक सञ्जालको लहरबाट बनेको होइन। जेल जीवन, प्रतिबन्ध, आन्दोलन, संविधान निर्माण, संघीयताको कार्यान्वयन, राष्ट्रिय स्वाधीनताको बहस, कूटनीतिक दबाब र संकटपूर्ण निर्णयहरूबीच उनले नेतृत्व गरेको इतिहास छ। उनीसँग कोही सहमत असहमत हुन सक्छ्न तर उनको राष्ट्रव्यापी प्रभाव, संगठनात्मक शक्ति र राज्य सञ्चालनको अनुभवलाई नकार्न सकिँदैन। राष्ट्रनायक त्यही हो, जसका निर्णयले केवल वर्तमान होइन, भविष्यको दिशा तय गर्छ।
यसको विपरीत, बालेन्द्र शाहको उदय डिजिटल असन्तोष र वैकल्पिक चाहनाको उपज हो। स्थापित दलप्रतिको आक्रोश, शहरी युवाको निराशा र सामाजिक सञ्जालको एल्गोरिद्मिक प्रवाहले उनलाई राजनीतिक केन्द्रमा पुर्याएको हो। यो उदय आफैंमा अस्वाभाविक होइन, तर समस्या तब सुरु हुन्छ जब लोकप्रियता नै नेतृत्व ठानिन्छ। राजनीति भावनाको विस्फोट होइन, नीतिगत स्थिरता र संस्थागत निरन्तरता हो ।
राष्ट्रनायक व्यक्ति केन्द्रित हुँदैन, राष्ट्र केन्द्रित हुन्छ। केपी ओलीको राजनीतिमा आलोचना कम छैन ।शैली कठोर भयो, अभिव्यक्ति विवादास्पद भयो, शक्ति केन्द्रीकरण भयो उनि देशीविदेशी सग झुकेनन भन्ने आरोप लागे। तर उनले राजनीति कहिल्यै फेसबुक पोस्ट वा लाइभ स्टन्टमा सीमित गरेनन्। उनका निर्णय संसद्, क्याबिनेट, पार्टी संरचना, अदालत र अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चसम्म पुग्छन्। यही नै राष्ट्रनायकको कार्यक्षेत्र हो । राष्ट्रनायक संकटमा भावनाले होइन, गणनाले निर्णय गर्छ। शब्द तौलिन्छ, समय रोजिन्छ, परिणामको जिम्मा लिइन्छ। असफलता आए पनि त्यो राज्यस्तरमै मापन हुन्छ। यही कारण हो केपी ओलीको जित वा हार व्यक्तिगत होइन, राजनीतिक धारको मात्र होईन देशकै जित–हार हुन्छ ।
बालेनको राजनीतिक अभ्यास धेरै हदसम्म प्रतिक्रिया आधारित देखियो। नीति निर्माणभन्दा भावनात्मक अभिव्यक्ति, संस्थागत संवादभन्दा डिजिटल आह्वान, दीर्घकालीन योजनाभन्दा तत्कालीन स्टन्ट हावी भए। नेता स्वयं कन्टेन्ट क्रियटर जस्तो देखिन थालेपछि शासनको गम्भीरता कमजोर हुन्छ। राष्ट्रिय स्वाधीनता कम्जोर हुन्छ।
राजनीति भीड उक्साउने कला होइन, भीडलाई जिम्मेवारीमा रूपान्तरण गर्ने प्रक्रिया हो। फेक अकाउन्ट, गालीगलौज र घृणात्मक भाषालाई मौन समर्थनले वैधता दिनु नेतृत्व होइन। जब संयम नेतृत्वबाट हराउँछ, समर्थक अनुशासनबाट टाढा जान्छन्। यही बिन्दुमा लोकप्रियता र नेतृत्वबीचको अन्तर प्रस्ट हुन्छ।हात्ती हिँड्दा जंगलको राजा हो । कमिला चञ्चल हुन्छ, देखिन्छ, तर दिशानिर्देश गर्न सक्दैन। केपी ओलीसँग संगठन छ, विचार छ, ऐतिहासिक निरन्तरता छ र राज्य सञ्चालनको अनुभव छ। उनको एक निर्णयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव पार्छ ।
बालेनको राजनीति अझै हावाको बेग केन्द्रित छ। महानगर प्रमुख भएर 23%पनि कार्य सम्पादन गर्न नसक्ने असफल मेयरले , झापा–५ जस्तो राजनीतिक चेतनायुक्त क्षेत्रमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने कल्पना भावनात्मक उत्तेजना मात्र हो, यथार्थ होइन हात्ति र कमिला को कथा जस्तै हो । नेपालको चुनाव केवल मतको गणित होइन, विश्वास, संगठन, विचार र निरन्तरताको परीक्षा हो। यही यथार्थका कारण केपी ओलीको जित सुनिश्चित देखिन्छ। यो सुनिश्चितता अहंकारबाट होइन, संरचनाबाट आएको हो। दल, संगठन, कार्यकर्ता, विचारधारा र नेतृत्वबीचको संयोजन नै चुनाव जित्ने आधार हो। भाइरल लोकप्रियता मतमा रूपान्तरण हुन सक्छ भन्ने भ्रम इतिहासले पटक–पटक तोडेको छ ।
झापा जस्तो राजनीतिक रूपमा परिपक्व भूगोलमा मतदाताले क्षणिक आवेग होइन, दीर्घकालीन नेतृत्व रोज्छन्। त्यसैले केपी ओलीको जित व्यक्तिको होइन, राष्ट्रनायकको राजनीतिक तर्कको जित हो।लोकतन्त्रमा वैकल्पिक आवाज आवश्यक छ तर विकल्प बन्ने हो भने आवेगबाट , स्टन्टबाट र डिजिटल भीडबाट होइन स्पष्ट निति बाट राज्यबोधतर्फको यात्रा अपरिहार्य हुन्छ ।
राष्ट्रनायक बन्न लोकप्रियता होइन, उत्तरदायित्व बोक्ने साहस चाहिन्छ। आफूभन्दा ठूलो बनाउने दृष्टि चाहिन्छ। केपी ओली यही यात्राबाट आएका नेता हुन्, त्यसैले उनी राष्ट्रनायक हुन् ।
अन्ततः इतिहासले एउटै प्रश्न सोध्छ…..?
प्रधानमन्त्री हुन सिहदरबार किन जलाएको ? सर्बोच्च अदालत किन जलाएको ? कलिला बालबालिकालाइ किन मार्न लगिएको ? अनि झापाके का लागि आएको ? यहाँका झुपडी मा डोजर लागाउन,शान्त समुदायलाइ दर त्रास भएबित बनाउन आदि आदि ?
(लेखक ढकाल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रिय सदस्य तथा नेपाल बौद्धिक परिषदको केन्द्रिय सचिब हुनु हुन्छ ।)
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.