माघ ५, मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा योङ स्टार युवा क्लबको आयोजनामा सिन्धुपाल्चोक जिल्ला अन्तरपालिकास्तरीय खुला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष तामाङले २८६२ औँ सोनाम ल्होसार तथा अन्य चाडपर्वको अवसरमा यस्ता खेलकुद कार्यक्रम आयोजना गरेकोमा आयोजक क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले चार दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न खेलाडी तथा रेफ्रीहरूलाई निर्देशन दिनुका साथै सबै सहभागी खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।
आज सम्पन्न उद्घाटन खेलमा सुनकोशी गाउँपालिका र सिर्जनशील युवा क्लब मेलम्ची–७ बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सिर्जनशील युवा क्लबले २५–१८ र २५–१३ को सेटमा जित हात पार्दै प्रतियोगितामा आफ्नो पहिलो विजय दर्ता गराएको छ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाही, पूर्व गाविस अध्यक्ष अर्जुन गिरी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीहरूले क्रमशः नगद ५० हजार, ३० हजार र १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उक्त जानकारी कार्यक्रम संयोजक तथा योङ स्टार युवा क्लबका अध्यक्ष प्रेम तामाङले दिनुभएको हो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.