माघ २, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको भोटेनाम्लाङमा तमु समुदायले आफ्नो मौलिक चाड तमु ल्होसार २०८२ भव्य रूपमा मनाएका छन्। भोटेनाम्लाङ तमु समाजको आयोजनामा सप्रि ल्हो (सर्प वर्ग) लाई विदाइ गर्दै त ल्हो (घोडा वर्ग) लाई स्वागत गर्ने उद्देश्यसहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो।
तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् सिन्धुपाल्चोक संगठनका सचिव सुवास घले गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख टासी लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा विवेक गुरुङले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि टासी लामा, विशेष अतिथि केशव गुरुङ, सुके तामाङ, देवराज गुरुङ, भीमबहादुर गुरुङ, चित्र गुरुङ तथा गोविन्द गुरुङले तमु संस्कृतिको संरक्षण र समुदायको एकताबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
भोटेनाम्लाङ तमु समाजले आगामी वर्ष आफ्नै गुरुङ गुम्बा निर्माण गर्ने लक्ष्यसहित जग्गा खरिद प्रक्रिया अघि बढाउने जानकारी पनि सो अवसरमा गराएको थियो। कार्यक्रम सफल बनाउन देश तथा विदेशमा रहनुहुने शुभचिन्तकहरूले आर्थिक सहयोग प्रदान गरेका थिए। सहयोगी दाताहरू, प्रमुख तथा विशेष अतिथिहरू र अतिथि कलाकारहरूलाई आयोजक संस्थाले मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो।
सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित गायक राकेश गुरुङ, पुनम गुरुङ, दिपशिखा गुरुङ र सोनाम लामाले विशेष प्रस्तुति दिएका थिए। साथै स्थानीय कलाकार अमिर घले गुरुङ, मेघ्ना गुरुङ र कृष्ण गुरुङले पनि दर्शकको मन जित्ने प्रस्तुति राखेका थिए।
कार्यक्रम सफल रूपमा सम्पन्न गर्न विवेक गुरुङ, सुवास घले गुरुङ, रामकुमार गुरुङ, दिलिप गुरुङ, विश्वराज गुरुङ, बलराम गुरुङ, रामकुमारी गुरुङ, बुद्धिमाया गुरुङ लगायतको उल्लेखनीय योगदान रहेको थियो। कार्यक्रमको सञ्चालन तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् सिन्धुपाल्चोकका सल्लाहकार मदन गुरुङले गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन धर्म गुरु तथा बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे (सन्जिव गुरुङ) ले मंगल पाठ वाचन गर्दै पानसमा दीप प्रज्वलन गरी पालिका प्रमुख टासी लामा सहित संयुक्त रूपमा गर्नुभएको थियो। राष्ट्रिय गान तथा चर्चित गायक गडुलध्वज ‘जिमी’ गुरुङद्वारा प्रस्तुत भोटेनाम्लाङ गीतबाट कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.