३ माघ २०८२, शुक्रवार

मदनकृष्ण श्रेष्ठद्वारा यम बरालका तीन गीत सार्वजनिक

माघ २, काठमाडौं । गायक यम बरालको स्वरमा रहेका तीनवटा नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ गीत तथा तिनका भिडियो सार्वजनिक गरिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ थिए भने विशिष्ट अतिथिमा वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जंगम, चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौला, वरिष्ठ पत्रकार ऋषी धमला लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले संयुक्त रूपमा गीत तथा भिडियो सार्वजनिक गरेका थिए।

सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’मा राखी गौचनको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। उक्त गीतको भिडियो केशव राज भट्टले निर्देशन गरेका हुन्। भिडियोमा अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन तथा जुना कार्की र गायक यम बरालको अभिनय रहेको छ।

त्यस्तै दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ। यस गीतको भिडियोको निर्देशन गीतकार सञ्जय बराल स्वयंले गरेका हुन्। भिडियोमा यम बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय देख्न सकिन्छ। बिक्रम डिसीको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

तेस्रो गीत ‘टेण्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ। नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रसिला श्रेष्ठ र गायक बराल स्वयंको अभिनय रहेको छ। भिडियोमा नमित चन्द ठकुरी सहायक निर्देशक, मनोज केसी छायांकन र शुकुन तिमल्सिनाको सम्पादन रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गायक यम बरालले लामो समयपछि आफू मूलधारको संगीतमा पुनः सक्रिय भएको बताए। ३५ वर्षदेखि निरन्तर संगीत क्षेत्रमा सक्रिय रहँदै आएका उनले आफू फण्डाभन्दा साधनामा रमाउने कलाकार भएको उल्लेख गरे। आफूले जानेको र बुझ्ने क्षेत्र संगीत नै भएकाले निरन्तर संगीतकर्ममै समर्पित रहेको उनको भनाइ थियो। साथै उनले आफूलाई विश्वास गरी सहकार्य गर्ने सबै स्रष्टा र सर्जकप्रति आभार व्यक्त गरे।

संगीतकार शंकर थापा ‘स्माइल’ले यम बरालको गायकीको प्रशंसा गर्दै उनका स्वरमा विशेष माधुर्यता रहेको बताए। ‘यो साँझ फेरी’ गीतका सन्दर्भमा उनले गायक बराल र गीतकार गौचनसँगको सहकार्यबाट उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रयास गरेको बताए।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले यम बराललाई आफूलाई मन पर्ने गायकहरूमध्ये एक भएको उल्लेख गरे। जीवनसाथी गुमाएपछि आफू भावुक रहने गरेको बताउँदै बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए। उनले संगीतकार शंकर थापाको सिर्जनाको पनि खुलेर प्रशंसा गरे।

संगीतकार दिपक जंगमले सार्वजनिक गीतहरू शब्द, संगीत र स्वरको सन्तुलनमा उत्कृष्ट रहेको बताए। गीतका विभिन्न आयामहरू सबल रहेको उनको धारणा थियो।

वरिष्ठ पत्रकार ऋषी धमलाले यम बरालले इलामलाई गीत–संगीतमार्फत चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए। त्यस्तै विशेष अतिथि दिपाश्री निरौलाले पनि बरालको गायकीको प्रशंसा गर्दै सार्वजनिक भएका भिडियोहरू मन परेको प्रतिक्रिया दिइन्।

कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पूर्व अध्यक्ष वरिष्ठ पत्रकार शान्तिप्रिय, एनआरएनए कोरियाका संस्थापक अध्यक्ष गंगा राज राई, संगीतसर्जक गणेश पराजुली लगायत गीत–संगीत क्षेत्रका स्रष्टा, कलाकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.