डा. राजन भट्टराई
"कलर रिभोलुशन" प्रायः बाह्य तथा आन्तरिक शक्तिहरूको दीर्घकालीन रणनीति र एक-आपसको समन्वयात्मक क्रियाकलापद्वारा सञ्चालन गरिने एक प्रकारको राजनीतिक इन्जिनियरिङ हो, जसको उद्देश्य निर्वाचित सरकारलाई कमजोर बनाउँदै अन्ततः शासन–परिवर्तन (Regime Change) को वातावरण तयार गर्नु हो। यसको सञ्चालन–प्रक्रियामा प्रायः निम्न चरणहरू समावेश हुन्छन्:
१. जननिर्वाचित नेतृत्वको योजनाबद्ध बदनाम (Systematic Delegitimization)
• जनताद्वारा चुनेका नेताहरूलाई अयोग्य, भ्रष्ट, असफल वा अधिनायकवादीको रूपमा निरन्तर चित्रण गरिन्छ।
• सामान्य प्रशासनिक कमजोरीलाई राजनीतिक अस्थिरताको मूल कारण जस्तै बनाएर प्रस्तुत गरिन्छ।
• चरित्रहत्या, पूर्वाग्रहपूर्ण समाचार, र आधा–सत्य सूचनाबाट नेतृत्वमाथि अविश्वास उत्पन्न गरिन्छ।
२. सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूको समन्वित प्रयोग
• राष्ट्रिय मिडियालाई नकारात्मक कुरा प्रकाशन र प्रशारणका लागि सक्रिय गरिन्छ।
• गलत सूचना (misinformation) र भ्रामक सूचना (disinformation) को संयोजनमार्फत समाजमा शंका, आक्रोश र भ्रम फैलाइन्छ।
• सहि विचार वा तथ्यलाई उपेक्षा, उपहास वा बदनाम गरिन्छ, ताकि जनमानसमा एकपक्षीय धारणा बनोस्।
३. राजनीतिक व्यवस्था र राज्य–संस्थाहरूमाथि कृत्रिम अविश्वास निर्माण
• सिंगो राजनीतिक प्रणालीलाई असफल, पुरातन, भ्रष्ट र जनअपेक्षासँग असम्बद्ध जस्तो देखाइन्छ।
• संसद, न्यायपालिका, सुरक्षा संयन्त्र तथा संवैधानिक संस्थाहरूलाई पक्षपाती वा कब्जामा परेको भनेर चित्रण गरिन्छ।
• यसरी बनाइएको “व्यवस्था असफल” को कथा सडक आन्दोलनको औचित्य स्थापित गर्न प्रयोग गरिन्छ।
४. जनजीवनका समस्याको राजनीतिकरण र दुरुपयोग
• बेरोजगारी, महँगी, सेवा–प्रवाह, भ्रष्टाचारजस्ता वास्तविक चुनौतीलाई योजनाबद्ध रूपमा ‘राजनीतिक हतियार’ बनाइन्छ।
• असन्तुष्टिलाई आक्रोसमा र आक्रोशलाई आन्दोलन र अस्थिरता को श्रृंखला उत्पन्न गर्न अफवाह र अतिरञ्जनाको प्रयोग गरिन्छ।
• समस्याको समाधान होइन, समस्यालाई बढाइ चढाइ गरी जनतालाई निराश, भ्रमित र आक्रोसित बनाइन्छ।
५. नागरिक समाज, युवाशक्ति र NGOहरूको परिचालन
• स्वतन्त्र देखिने समूहहरूलाई प्रशिक्षण, स्रोत र साधन दिइन्छ।
• उनीहरूलाई जनआन्दोलनको नेतृत्व गर्ने पंक्तिका रूपमा अगाडि सारिन्छ।
• सामाजिक सञ्जाल, नारा, असहयोग आन्दोलन तथा ‘नन–भायोलेंट रेसिस्टेन्स’ का तरिका बारे विशेष तालिम दिइन्छ।
६. सामाजिक सञ्जालमा मनोवैज्ञानिक प्रभाव सिर्जना (Digital Psy-ops)
• बोट, फेक–एकाउन्ट, पेड इनफ्लुएन्स नेटवर्कमार्फत भावनात्मक सामग्री उत्पादन हुन्छ।
• ह्यासट्याग, मिम, संक्षिप्त भिडियो मार्फत जटिल विषयलाई सहज बनाइन्छ।
• सरकारका प्रत्येक निर्णयलाई तुरुन्तै विवादित बनाइन्छ।
७. ठूलो आन्दोलन सुरु गराउने “स्पार्क इभेन्ट” निर्माण
• विवादास्पद फैसला, आर्थिक संकट, भ्रष्टाचार आरोप वा कुनै अप्ठ्यारो परिस्थिति “ट्रिगर” को रूपमा प्रयोग गरिन्छ।
• उक्त घटनालाई आधार बनाएर तत्काल सडक आन्दोलन, विरोध–जुलूस वा धरना सुरु गरिन्छ।
• अन्तर्राष्ट्रिय मिडियाले घटनालाई अतिरञ्जित गरी कूटनीतिक दबाब सिर्जना गरिन्छ।
८. नीति निर्माणको तह र सुरक्षा निकायमा विभाजन सिर्जना गरिन्छ ३. राजनीतिक व्यवस्था र राज्य–संस्थाहरूमाथि कृत्रिम अविश्वास निर्माण
• व्यवसायी, प्रशासक, संचारकर्मी तथा सत्तारूढ दलका प्रभावशाली व्यक्तिलाई सरकारबाट टाढिन प्रेरित गरिन्छ।
• सुरक्षा निकायमा फूट पार्ने र साना घटनालाई पनि “राज्य दमन” को रूपमा प्रस्तुत गरिन्छ।
• यसरी सरकारलाई एक्लिएको, कमजोर र नियन्त्रणहीन देखाउने प्रयास गरिन्छ।
९. अन्ततः राजनीतिक पतन (Regime Collapse) निर्माण
• जब दबाब असह्य हुन्छ, सरकारलाई राजीनामा दिन, नयाँ चुनाव घोषणा गर्न वा सत्ता छोड्न बाध्य पारिन्छ।
• अन्ततः “अन्तरिम सरकार” वा “संक्रमणकालिन व्यवस्था” समाधानका रूपमा अघि सारिन्छ—प्रायः त्यही शक्ति वा समूहद्वारा जसले संकट निर्माण गरेका हुन्छन् । नेपालको मामिलामा मेल खाएन त? डा.भट्टराई नेकपा एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.