सिन्धुपाल्चोक । यहाँको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस विशेष कार्यक्रमसहित सम्पन्न गरिएको छ। गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रमले स्थानीय स्तरमा आरोग्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलको विशेष उपस्थिति रहेको थियो। नागरिकहरूमा योग, ध्यान र आत्मचेतनाको अभ्यास बढाउँदै समग्र स्वास्थ्य सुधारमा टेवा पुर्याउने लक्ष्यका साथ दिवस मनाइएको जनाइएको छ।
उपाध्यक्ष अधिकारीले यस्ता कार्यक्रमहरूलाई स्थानीय सरकारबाट निरन्तर सहयोग रहने बताउँदै आरोग्यलाई व्यक्तिगत मात्र नभई सामूहिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले योग र ध्यानसम्बन्धी शिक्षा विद्यालय तहदेखि नै लागू गर्ने नीतिको सान्दर्भिकता उल्लेख गर्दै व्यवहारमा कार्यान्वयन भए मात्र यसको वास्तविक लाभ प्राप्त हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, सेवाग्राही तथा स्थानीय महिला समूहहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले ध्यान अभ्यासमार्फत आन्तरिक शान्ति, सन्तुलन र सकारात्मक ऊर्जा अनुभूति गरेको बताएका थिए।
साथै, सामाजिक सद्भाव, आपसी सहकार्य, प्रकृतिसँगको सन्तुलित सम्बन्ध र आत्मचिन्तनमार्फत प्राप्त हुने आध्यात्मिक विकासजस्ता पक्षहरूको समन्वयले मात्र जीवनलाई पूर्णता दिन सकिने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.