२९ चैत २०८२, आइतवार

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–

भक्तपुर  । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ प्रदान गरिएको छ। विद्यालयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रममार्फत उल्लेखनीय काम गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर आयोजित विशेष समारोहमा यो अवार्ड प्रदान गरेको हो। कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री सुधा गौतम शर्माको उपस्थितिमा उक्त सम्मान हस्तान्तरण गरिएको थियो। अवार्ड बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले संयुक्त रूपमा ग्रहण गर्नुभएको हो ।  अवार्ड ग्रहणपछि बोल्दै स्वास्थ्य मन्त्री थापाले मन्त्रालयले अघि सारेको ‘एक विद्यालय एक नर्स’ अभियानको औचित्य र प्रभावकारितालाई यस सम्मानले पुष्टि गरेको बताउनु भयो ।  उहाँले विद्यालय तहमा स्वास्थ्य सेवा उपलब्ध गराउँदा विद्यार्थीहरूको स्वास्थ्य अवस्था सुधारमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको उल्लेख गर्दै यस्ता पहलहरूलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँका अनुसार, यो सम्मानले मन्त्रालयलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न थप हौसला प्रदान गरेको छ।

त्यसैगरी, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयको प्रयासलाई राष्ट्रिय स्तरमा मान्यता मिल्नु गौरवको विषय भएको बताउनु भयो ।  उहाँले विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूलाई अझ व्यापक बनाउने र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने दिशामा मन्त्रालय निरन्तर क्रियाशील रहने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने अन्य संस्थाहरूलाई समेत सम्मान गरिएको थियो। ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले विद्यालयहरूमा प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउँदै विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा र सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.