माघ १५, हेटौंडा, मकवानपुर । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला यतिबेला मतदातासँग प्रत्यक्ष संवादमा सक्रिय हुनुहुन्छ। बिहीबार मनहरी गाउँपालिकाका घट्टेदमार, भुन्द्रुङ, टाँडी, पर्ता र चकरी क्षेत्रका बस्तीहरूमा पुग्दा स्थानीयले उहाँप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।
भेटघाटका क्रममा केवल चुनावी प्रतिबद्धता मात्र होइन, बर्तौलाको अघिल्लो कार्यकालमा गरेका कामहरूको मूल्याङ्कन पनि खुलेर भएको देखियो।
मनहरी–३ का स्थानीय रामभक्त अधिकारीले अहिलेका मतदाता सजिलै प्रभावित नहुने बताउँदै भने, “जनता अहिले सचेत छन्। कसले के कति काम गर्यो भन्ने सबैले नियालिरहेका छन्। राम्रो काम गर्ने नेतालाई जनताले कहिल्यै बेवास्ता गर्दैनन्।”
युवा मतदाता इन्द्रदेव वाइबाले महेश बर्तौलाको क्षमता र परिपक्वताको प्रशंसा गरे। उनका अनुसार विचार, सिद्धान्त र शैक्षिक योग्यताका हिसाबले बर्तौला संसदका लागि उपयुक्त व्यक्ति हुनुहुन्छ।
मनहरी–१ का विशाल लामाले बर्तौलालाई अरू नेताभन्दा फरक स्वभावको व्यक्ति भएको उल्लेख गरे। “महेश दाइ भाषणमा मात्र होइन, समस्यामा साथ दिने नेता हुनुहुन्छ। संसदमा बफर जोन र भूमिहीनका मुद्दा उठाएको हामीले सुनेका छौं, आगामी दिनमा पनि पीडितका पक्षमा आवाज उठाइरहनुहोस्,” लामाले भने।
स्थानीयले वन संरक्षणका कारण दैनिक जीवनमा आइरहेका कठिनाइ र त्यससँगै रहेको पर्यटन तथा कृषि सम्भावनाबारे पनि छलफल गरेका छन्। वनलाई संरक्षण गर्दै गाई–भैंसी पालन, कृषि र पर्यटनसँग जोडेर विकास गर्नुपर्ने उनीहरूको सुझाव रहेको छ।
हाडीखोला र मनहरी क्षेत्रका मतदाताबाट देखिएको यो उत्साहले महेश बर्तौला आगामी निर्वाचनमा बलियो दाबेदारको रूपमा उभिएको संकेत गर्छ।
भेटघाट कार्यक्रममा एमाले नेता राजाराम स्याङ्तान, मकवानपुर जिल्ला कमिटी सदस्य बीरेन्द्र डिसी, मनहरी अध्यक्ष नवीन सुवेदी, निर्वाचन फोकल पर्सन आशिष अस्लामी, विद्यार्थी नेता प्रभाष घिमिरे लगायतको उपस्थिति रहेको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.