१२ माघ २०८२, आइतवार

बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ अध्यक्षमा निर्वाचित

११ माघ, मेलम्ची सिन्धुपाल्चोक । यहाँको पाँचपोखरी थाङपाल गाउँपालिका–१ मा सञ्चालित बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा मनिष ग्राङदेन, सचिवमा प्रदीप दोङ र कोषाध्यक्षमा आइति तामाङ चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा शेरबहादुर ब्लोन, न्हेमा स्याङ्बो, न्हेमा थिङ, विद्या बी.के. तथा सम्झना श्रेष्ठ रहनुभएको छ।

साधारणसभाको अवसरमा सहकारीमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत २७ जना ज्येष्ठ नागरिकलाई हर्लिक्स वितरण गरिएको थियो। साथै, उत्कृष्ट बचतकर्ता दुई जना र उत्कृष्ट कारोबारी दुई जनालाई सम्मान गरिएको सहकारीका व्यवस्थापक गणेश विकले जानकारी दिनुभयो।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं. १ का वडा अध्यक्ष आलोककुमार स्याङ्बोले सहकारी संस्थाले स्थानीय समाजको सामाजिक, आर्थिक तथा जीवनस्तर सुधारमा खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। उहाँले सहकारीको दिगो विकासका लागि वडा कार्यालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा सहकारीको आर्थिक प्रतिवेदन व्यवस्थापक गणेश विकले प्रस्तुत गर्नुभएको थियो। हाल सहकारीमा ४५३ जना सदस्य आबद्ध रहेको जानकारी उहाँले दिनुभयो। साधारणसभामा जनप्रतिनिधि, बुद्धिजीवी, स्थानीय व्यक्तित्व तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहकारीका अध्यक्ष बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मनोरञ्जनात्मक चिठ्ठा कार्यक्रमसमेत आयोजना गरिएको थियो। चिठ्ठा कार्यक्रममा पहिलो पुरस्कारस्वरूप मकै छोडाउने मेसिन, दोस्रो पुरस्कारमा २०० लिटर क्षमताको थोपा सिंचाइ सेट र तेस्रो पुरस्कारमा १६ लिटर क्षमताको स्प्रे मेसिन प्रदान गरिएको थियो।

समग्रमा, साधारणसभाले सहकारीको संस्थागत सुदृढीकरण, सामाजिक योगदान र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.