११ माघ २०८२, शनिवार

सिर्जनात्मक लेखनसम्बन्धी विशेष प्रशिक्षण

 माघ १०, मेलम्ची , सिन्धुपाल्चोक

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको आयोजनामा विद्यालय तहमा अध्यापनरत शिक्षकहरूका लागि सिर्जनात्मक लेखनसम्बन्धी एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा करिब सय जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यशालामूलक ढङ्गमा सञ्चालन गरिएको प्रशिक्षणमा बार्णिक तथा मात्रिक छन्दअन्तर्गत कविता लेखनका विविध पक्षबारे गहन अभ्यास गराइएको थियो। उक्त सत्रको सहजीकरण वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. देवी नेपालले गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले शिक्षकहरूको सीप अभिवृद्धिका लागि शिक्षक सङ्गठनले गर्दै आएको पहलको खुलेर प्रशंसा गर्नुभयो। उहाँले पालिकाभित्रको शैक्षिक स्तर उकास्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलगायत वक्ताहरूले शिक्षकहरूको निरन्तर पेशागत विकास अपरिहार्य रहेको धारणा राख्दै कार्यक्रम सफल भएकोमा आयोजकलाई बधाई दिनुभएको थियो।

कार्यक्रममा सहभागी शिक्षकहरूले भने स्थानीय तहबाट अपेक्षित शैक्षिक क्षमता विकासका कार्यक्रम पर्याप्त रूपमा नआएको गुनासो व्यक्त गरे। नगर तथा वडा शिक्षा समितिले गर्नुपर्ने कार्यक्रम शिक्षक सङ्गठनमार्फत सहभागी हुन पाएकोमा उनीहरूले सन्तोष व्यक्त गरे। प्रशिक्षणपछि विद्यालयमा विद्यार्थीलाई सिर्जनात्मक लेखनतर्फ आकर्षित गर्न र कविता शिक्षणलाई अझ प्रभावकारी बनाउने आत्मविश्वास बढेको सहभागीहरूको भनाइ थियो।

नेपाली भाषा अध्यापन गर्ने तथा साहित्य सिर्जनामा रुचि राख्ने शिक्षकहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिका अध्यक्ष कृष्ण ढुङ्गानाले दिनुभयो। प्रशिक्षणबाट प्राप्त ज्ञान अब व्यवहारमा उतारिने र कक्षाकोठामा सिर्जनात्मक अभ्यासको सुरुवात हुने अपेक्षा आयोजकले गरेको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.