माघ १०, मेलम्ची सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका–११ कटुञ्जेमा अवस्थित श्री जनजागृति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५७ वर्ष पूरा गरेको अवसरमा विशेष समारोह आयोजना गरेको छ। विद्यालयको वार्षिकोत्सवसँगै १६औँ अभिभावक भेला पनि एकैसाथ सम्पन्न गरिएको हो।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
समारोहका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले विद्यालयले लामो समयदेखि समुदायमा पुर्याउँदै आएको शैक्षिक योगदानको खुलेर प्रशंसा गर्नुभयो। उहाँले शिक्षा नै समाज रूपान्तरणको आधारस्तम्भ भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन विद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। साथै नगरपालिकाले आगामी दिनमा पनि विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नगर उप–प्रमुख उमा प्रधानले विद्यार्थीको समग्र विकासका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो। उहाँले पठनपाठनसँगै संस्कार, अनुशासन र सिर्जनात्मक क्षमताको विकासमा यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो।
वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले जनजागृति माध्यमिक विद्यालयलाई वडाको शैक्षिक पहिचानका रूपमा चित्रण गर्दै आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने विश्वास दिलाउनुभयो। पूर्वाधार निर्माणदेखि सह–पाठ्यक्रम गतिविधिसम्म वडाको साथ रहने उहाँको भनाइ थियो।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत तथा विभिन्न प्रतिभा प्रदर्शनले दर्शकको ध्यान आकर्षित गरेको थियो। साथै स्थानीय तथा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले समारोहलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपेश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक इन्द्रबहादुर तामाङले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अभिभावक लक्षित खेलकुद तथा सहभागितामूलक प्रतियोगिताले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
समारोहमा बलबहादुर वाइबा, आशा लामा, अन्जन दुलाल लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति मार्फत दर्शकको मन जितेका थिए।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.