४ माघ २०८२, शनिवार

कतिपय पुस्तक यस्ता हुन्छन् ..........

पुण्यप्रसाद भट्टराई, माघ ३, काठमाडौं ।

कतिपय पुस्तक यस्ता हुन्छन् त्यसको भिउज(Readr), रिभिउज (Review) र सवस्क्रिप्सन (Selling) भन्दा पुस्तकको मूल्य (Intrinsic Value) माथि देखिन्छन् । यो पुस्तकलाई मैले त्यही स्थान दिएँ । यस पुस्तकका लेखकसँग अघिल्लो हप्ता दोस्रोपटक भेट भएको थियो । अघिल्लो भेट करिव १० मिनटको थियो होला २ वर्ष अघि । 

यद्यपि यो पुस्तक मैले पहिलोभेट अघि नै पढिसकेको थिएँ । त्यसवेला मैले यो पुस्तक १ बसाइमा सकेको थिएँ । यसपटकको भेटपछि पुन: यो पुस्तक पढ्न जाँगर चल्यो । दोस्रोपटक पढ्दा धेरै नै नयाँ कुराहरु दिमागमा थपिए । पढ्न पनि करिव ३ दिन लाग्यो, अफिसमा खासै काम छैन मेरो पढ्ने नै काम हो भनेपनि हुन्छ । 

केहीसमय  अघि म कर्णाली प्रदेशमा हुँदा मित्र  प्रकाश सिग्देलले मेरो उच्च मनोवलका लागि एउटा मनोवैज्ञानिक ट्यावलेट पठाएका थिए । जहाँ धच गोतामेको कालान्तर निवन्ध संग्रहबाट एकटुक्रा यस्तो थियो- शायद गोतामेलाई सरुवा गरिएपछिको दिग्दारीमा लेखेको हुनुपर्छ ।

 ‘भोलिपल्टदेखि पुस्तकालयमा गएर आसन जमाएर बस्न थालेँ । पत्रपत्रिका र पुस्तक पुस्तिकाको विद्वद्वैभवको सानो संसारमा पुगेर म ज्यादै हर्षित भएको थिएँ ।  आयोगका हाकिमहरुको तुजुकपूर्ण कुनै खटन-पटन त्यहाँ थिएन, न तिनको कृत्रिम बौद्धिक उद्घोषका टड्कारा शब्दवेधीहरु यस वियावान सम्म आउन सक्थ्यो । पुस्तकालय मुख्य भूमिबाट च्यूत भएको ताईवान जस्तै थियो । म जस्ता अम्मली पढैयाको लागि यो ठाउँ अति आनन्ददायक थियो । दश बजेदेखि पाँच बजेसम्मको समयलाई दुई बजेसम्म पढ्ने र त्यसपछि लेख्ने गरी विभाजन गरेँ ।’

यो पढेपछि लाग्यो कहिलेकाहीँ समय अनुकूल नभएपछि धनुर्धर अर्जुन पनि बृहन्नला भएर ड्रम बजाएर भातखानुपर्छ के गर्नु?

मेरोलागि यो दीक्षा सरह हो अति काम लागिरहेको छ । अहिले मेरो पनि समय यस्तै चल्दै छ । म आजकाल खासै नेपाली लेखकका पुस्तक पढ्दिन किनकि अव लगभग लेखकका सवै Pattern र विषयवस्तु बझिसकियो । कतिपयका राजनीतिक फिलोसोफी पनि बुझिसकेपछि पुस्तक देख्दै उगाल आउँछ विरामी पर्दा जाउलो खाएको भए अरुवेला हेर्न मन लाग्दैन नि त्यस्तै । यसैवीच लेखकसँग भेट भएपछि  ‘समाज, संस्कार र शासन’ पुन: एकपटक पढ्न मन लाग्यो । किनकि पहिलोपटक यो पढ्दा यसको एक पात्र वा अंशको रुपमा मैले अनुभव गरेको थिएँ ।

लेखकसँग यतिधेरै ज्ञान अनुभव र त्यसको सैद्धान्तिक अन्तरवस्तुहरु छन् कि पढ्दा आफैँ अनुभव हुन्छ । मैले यो पुस्तकको कतै Revews पढ्न पाएको जस्तो लाग्दैन । हुन त पुस्तकको प्रकाशन पनि निकै अघि रहेछ । पहिलोपटक पढ्दा केही ख्याल गरिएनरहेछ वा लोकसेवालाई कुनकुन वुँदा चाहिन्छ त्यो मात्र ख्याल गरिएछ  । एकपटक एकजना संसदले संसद वैठकमा नै यो पुस्तक पढ्न सुझाएका थिए । मलाइ त्यो क्लिप पनि अहिले याद भयो ।

 पुस्तक निकै ठूलो लाग्यो । मोवाइलमा रिल सार्ने वानीले आफैँलाई फसाएको रहेछ जस्तो लाग्यो । हरेक विषयउठानसँगै त्यसका पादटिप्पणी Reference पनि राखिएका छन् । 

पादटिप्पणी कुनै विशिष्ट लेखक वा अन्वेशकका मात्र छैनन् । धेरै चाहीँ साधारण र अर्ग्यानिक स्रोतबाट राखिएका छन् । वास्तवमा लेखक आफैँ धेरै विषयवस्तुका स्रोतव्यक्ति हुन् । उनलाई गाउँको धामीको ढ्याङ्ग्रोदेखि सिलिकन भ्यालीको नवप्रवर्तनसम्म आफैँले भोग्न भ्याएका छन् ।

त्यति मात्र हैन ती विषयलाई सिलसिलामा वाँधेर राख्न सक्नै समयानुक्रम मिलाएर पस्कन सक्ने भाषिक खुवी पनि उत्तिकै रहेछ । 

प्रशासकहरुको प्रशासनइतरका योगदान मा उनले धेरै पूर्व साहित्यकार, संगीतज्ञ प्रशासकका नाम लेखेका छन् । अव अर्को कसैले यस्तो पुस्तक लेख्छ भने उनको नाम त्यो लिष्टबाट छुट्ने छैन । यसअघि लेखेका पुस्तकको नाम पनि यसमा उल्लेख हुँदा फूर्सद भए ध च गोतामेले झै उनले पनि पुस्तक लेख्न भ्याएका रहेछन् भन्ने लाग्यो । पुस्तकका विषयवस्तुहरुमा राखिएका रेफरेन्स हेर्दा पढ्न पनि उत्तिकै सक्ने मानिस रहेछन् ।

समाज र प्रशासन, राजनीति र प्रशासन, प्रशासन भित्रको प्रशासन गरी ३ खण्डमा पुस्तकभित्र हाम्रो प्रशासन भित्रको वास्तविकतालाई केन्द्रमा राखेर यसका वातावरणीय पक्षहरुलाई रौँचिरा गरिएको छ । यसले फ्रेड  रिग्सको “इकोलोजी अफ एडमिनिस्ट्रेशन” लाई झल्को दिन्छ । त्यो भन्दा सयौ वढी पक्षहरुलाई यहाँ प्रशासनको स्वरुप निर्धारकका रुपमा चित्रण गर्न खोजिएको छ ।

नेपाली समाजका वास्तविकतालाई देखाउने क्रममा कतिपय पत्याउनै नसकिने कुराहरु लेखक आफैँले भोगेका छन् । गाउँमा भूतप्रेतले राती ढुङ्गा हानेर तर्साएको, आर्जे हेराएको, पशुवली दिएको जस्ता विषयहरु आफैले देखेका छन् । यसवाट सम्पूर्ण समाजको मिहिन विश्लेषण छ । म आफू आफैले भोगेका कतिपय  कुरा पुस्तकमा भेट्दा अचम्म लाग्छ । लेखक आफैँ सन्दर्भ सामाग्री भएका अरु धेरै विषयहरु छन् जस्तै विरालोले बाटो काट्दा अघि नवढेको, गर्भवती महिलाले रातोमाटो खाएको, पुजामा चम्मरले हल्लाएको । 

उनले पुस्तकमा हाम्रो संस्कारको सही विश्लेषण हुन नसकेको कारण अन्धभक्त जस्तो हुन परेको, यसको सकारात्मक उपयोग हुन नसकेको, वास्तविकतामा आधारित भएर नीतिगत हस्तक्षेप हुन नसकेको भनी आफैले भोगेका विषयहरुको गर्तमा पाठकलाई घुमाएका रहेछन् । 

प्रशासन र राजनीतिमा पस्नेहरुको वाल्यकालका पीडा दुख र उसले उपभोग गरेको सार्वजनिक वस्तुहरुसँग उसले पद प्राप्त गरेपछि उपयोग गर्ने सार्वजनिक वस्तुहरु सुविधाहरुलाई तुलना गर्दै मनोवैज्ञानिक ढंगबाट कसरी भ्रष्ट हुन शुरु हुन्छ भनेर चीन र भारतका कामदारहरुको तुलना गरेका छन् । गाउँमा फाटेको कपडा लगाएर लोकसेवा पास गरेको भोलिपल्ट पाउने कार्यालयको विन्यास, कार्यालय सहयोगी सम्मको सेवाले उसमा अफिसजस्तै राम्रो घर र सेवासुश्रुषा पाउने सपना झाङ्गिन थाल्छ तर formal Incentive system बाट आवश्यकता पुरा हुन सक्दैनन र टेवलमुनि हात हाल्न थाल्छ । 

यस्ता सयौँ दृष्टान्टहरु पुस्तकमा भेटिए । भित्रभित्रै आफैँलाई सही पुस्तक पढ्दैछु भन्ने लाग्दोरहेछ । ३ डि सिनेमामा आफै हल्लिएको अनुभव गरेजस्तो । उनी पुस्तकमा उदाहरण र चलनचल्तीका भाषा र उद्गार दिएर पुस्तकमा प्रकृति चित्रण गरिदिन्छन् । 

हाम्रा नीतिका कुरा गर्दा राउटेको जंगलसँगको सम्बन्ध, मनाङ्गे र माडवारीको व्यापार संगको सम्बन्ध, शेर्पाहरुको हिमालसँगको सम्बन्धलाई हेरेर नीति बनाएनौ भन्छन् । हो हामीले नीतिलाई Contextually, Geographically … configure/customize गर्न नसकेर नै Failure/vapor भएका हुन् । 

नीतिदेखि व्यवहारको कुरा गर्दा उनी लेख्छन्, ‘शासकलाई रिझाउन चाकरी, चाप्लुसी र रकमी कलाले जरा गाड्यो । चाकरी खोज्ने शासक वर्ग र चाकरी गर्ने कर्मचारी, व्यापारी, रैती दुनियाँका परिवार वढ्दै गएपछि कसले कसलाई चाकरी गर्ने त्यसको पनि अंशवण्डा भयो ।’ वास्तवमा राजनीतिक गुट उपगुटले प्रशासनमा पनि आफ्नो फप्लेँटो बनाएको देखिएकै हो । 

कतै गुट उपगुटमा नलाग्नेलाई लेखकले पेज नं ३७४तिर दर्शनशाष्त्रीको उपमा दिएका रहेछन् । भोजशाष्त्री, तथ्याङ्कशाष्त्री र दर्शनशाष्त्री भनेर कर्मचारीलाई आम्दानीका हिसावले परिभाषित गरेका रहेछन् । यो अनौपचारिक तर रमाइलो र यथार्थपरक देखिन्छ । यतिमात्र हैन शक्ति प्रयोगका दृष्टिले सुदर्शन, प्रदर्शन र दर्शन भनी अर्को शिराबाट परिभाषित गरिएको रहेछ । यसो ध्यान खिचेर हेर्दा यो परिभाषा ठ्याक्कै रिलवाला क्यामेराको नेगेटिभ जस्तो स्पष्टै देखिन्छ ।

पछिल्लो समय सेवा  करार र कन्सल्टेन्सी प्रयोगले प्रशासनलाई थप जागरिलो भन्दा पनि कुनामा बस्ने सासु जस्तो बनाएको छ । राज्यव्यवस्थामा २ किसिमका मानिस काम गर्छन् । एउटा Consultant, जसले पैसा हिसाव गरेर मोटै रकममा सुन्तलाको केस्रा जस्ता काम गरेको देखिन्छ । अर्का Insult(ant) जो तलवी कर्मचारी जसले सवै काम गर्नैपर्छ । यसले पनि मलाई छोयो। As Desk officer निजामतीले सवै आयोजनाको संयोजन गर्छ काम गर्छ तर उसको वायोडाटामा थपिएर बढुवाका लागि यी काम लाग्दैनन् । तर Consultant को हरेक काम एउटा थप अनुभव र सीप भएर वायोडाटामा थपिन्छ ।

नेपालको प्रशासन सधैँ संक्रमणमा गुज्रन्छ । हरेक राजनीतिक परिवर्तनमा साथ दिएको भनेर जस लिन्छ र राजनीतिक स्वार्थभित्र घुस्रिएको हामीले देखेकै छौ । उनी पछिल्लो परिवर्तन उद्धृत गर्दै लेख्छन् "भ्रष्टाचारमा मुछिएका र राम्रो स्थान लिन हतारिएका व्यक्तिहरु मरेको स्यालको जुँगा उखेले झैँ हिजोको व्यवस्थालाई सभक्तिमानेकाहरु दलीय नेताको घर घर पार्टी कार्यालय धाउन थाले ।" पछिल्लो परिवर्तनमा पनि उनीहरुकै हालीमुहालि देखिन्छ । वास्तवमा अहिले निकटको जेनजी सरकारमा पनि त्यस्तै नै अनुभूत गर्दाहून मैलेजस्तै ।

संघीयताका सवाल, नेतृत्व विकास, राष्ट्रियता तथा विकास व्यवस्थापनका विषयदेखि सार्वजनिक व्यवस्थापनका मसिना पाटाहरुमा पनि लेखकले मसिनो गरी विश्लेषण गरेका छन् । त्यसमा हाम्रो संस्कार र समाजको रुपरेखा जोडिएको छ । लेखकलाई  देशका सवै भूभागको उत्तिकै ज्ञान छ । पढ्दै जाँदा लाग्छ उनले देशका सवै पाटावारीका सवै वुट्टा वुट्टा याद गरेका छन् ।

 निजामती बाहेकको जागिर पनि खान भ्याएको जस्तो देखिन्छ । निजामती सेवामा पनि राम्रै हैसियत र कार्यदक्षता प्रस्तुत गरेको जस्तो देखिन्छ । प्राय लेखकहरुले आफ्ना कृतिहरुमा आफ्ना आदर्श र राम्रा कुराहरु मात्र प्रस्तुत गरेर गालीजति अरुलाई गरेको देखिन्छ तर यस पुस्तकमा उनले आफ्ना कमजोरी र फेल्यूअर प्रोजेक्टलाई पनि उस्तैगरी वर्णन गरेका छन् र मेरो यसमा ठूलो कमजोरी भयो भनेर लेखेका छन् । 

त्यसैले पनि मलाई यो पुस्तक पढेपछि केही लेख्न मन लाग्यो । 

जातीय संघीयताका वारेमा उनको प्रश्न छ, साडे २०० वर्षअघि खोटाङ र भोजपूरबाट विहारको सुपोल बसाईँ सरेका र मैथिल भइसकेका राईहरु नेपालका तराईमा बसाइ सरीआए भने उनीहरुलाई पहाडे भन्ने कि मधेसी भन्ने ?

हाम्रा २ लाख मानिस भारत गएभने पानीका थोपाजस्ताा हुन्छन् भारतबाट २०हजार मात्र नेपाल आए भने हाम्रा आर्थिक र समाजिक पूर्वाधारले थेग्दैनन् । राष्ट्रियताका सन्दर्भमा सोचनीय विषयहरु छन् पुस्तकमा । 

पछिल्लो समयमा मन्त्रालयको सचिव नै परीक्षणकालमा जसरी मन्त्रालयमा रहने जस्तो देखिन्छ । हेल्मेट शिक्षकको जस्तो उदाहरण दिदै पुस्तकमा प्रश्न आउँछ, Tourist सचिवले कसरी मन्त्रालय बुझ्न भ्याउनु र सार्वजनिक प्रशासन सुध्रनु? 

पुस्तकमा उल्लिखित एउटा दृष्टान्त हेरौँ “हाम्रो प्रशासनमा ऐनले नियमलाई काट्छ, नियमलाई परिपत्रले काट्छ,  परिपत्रलाई टेलिफोनलाई काट्छ, टेलिफोनलाई फरियाले काट्छ, फरियालाई विहान वेलुकाको दर्शनले काट्छ, दर्शनलाई क्याँस नोटले काट्छ ।” 

पछिल्ला नयाँ हाकीमहरुसँग मैलेपनि काम गरेको छु । उनीहरु स्वार्थ मिल्ने विषय भए प्रकृया भन्दा नतिजालाई जोड दिनुपर्छ भन्छन् । यस्तो विषयमा मैले पनि धेर थोर खेपेको छु । यहाँ पुस्तकको यो अंशले मलाई Accredited गरेजस्तो लाग्यो । एउटा सवालमा प्रकृया देखाउँदा मेरो सरुवा भएको याद आयो यसले मलाई खुव छोयो ।

४४५ पानाको पुस्तकमा घत लाग्ने अनगिन्ति कुराहरु छन् । जुन यहाँ लेख्न सम्भव छैन । श्रीलंकामा सिंचाइ र विजुली आयोजनाको उपभोक्ता समितिको गठन प्रकृया बढो सान्दर्भिक रहेछ । उपभोक्ता समितिमा डेमोक्रेसी भनेर चुनाव गरिदो रहेनछ । पानी कुलोको अन्तिम खेतवालालाई अध्यक्ष बनाइदिएपछि आफैमा डेमोक्रेसी उत्तम हुनेरहेछ । म पनि खेतमा पानी रुग्न बसेको मानिस भएकाले यो कुराले खुव छोयो । हाम्रा तथाकथित विद्वान ज्यूहरु यतिवेला नयाँ सार्वजनिक शासन (NPG) का खुव गफ गरिरहन्छन् । यो भन्दा राम्रो Co-model NPG मा के होला ?

“हामीले राम्रो शासन व्यवस्थामा सुशासन खोज्ने तर  व्यवहार नदेखउने चलन छ । समाजमा Check and balance किन छैन भने एउटै घरको मानिस राजनीति, प्रशासन, उद्योग र नागरिक समाजमा छ ।” पुस्तकमा उल्लेखित यो  विषय समाजमा देखिएकै हो । कतिपय घरमा त बावु एउटा पार्टी, छोरो अर्कै पर्टी आमा अर्को पार्टीमा छन् जुन सरकार आएपनि उनीहरुले फाइदा नै लिइरहेको देखिन्छ । आजकाल यसैकारण परिवर्तन व्यवस्थापन हुनै सक्दैन । 

हाम्रा संस्थाहरु कसरी Rent seek गर्छन भन्ने एउटा उदाहरण गज्जव लाग्यो । त्यो संस्थाको लिगेसी उवेला देखि आजसम्म उस्तै रहेछ । मैले केही समय अघि गोरखापत्रमा एउटा लेख लेखी निजामती सेवा पुरस्कार पाएका उम्दाहरुलाई त्यहाँ समूह बनाएर लानुपर्छ भनेर लेखेको थिएँ । त्यसको खासै चर्चा भएन । पुस्तकमा एक फ्रेन्च व्यापारीले निकै अघि नेपालमा लगानी गर्न सकिन्छ कि भनेर रिसर्च गर्न आएका वेला अध्यागमनमा कर्मचारीसँग ३०० डलरबाट वार्गेन गर्दै १०० डलर तिर्नुपरेको उदाहरण प्रस्तुत छ । योकुरा सवै नीति निर्मातालाई जगजाहेर हुँदापनि न त त्यो संस्था सुधार्यौ न त लगानी गुहार्यौँ । हामी लगानी सम्मेलन गरिरहेका छौँ र लगानी आएन भनिरहेका छौँ ।

समग्रमा यो पुस्तकका हरेक हरफ पढ्दा आफूलाई त्यसभित्र समेटिएको पाएँ । उल्लेख गरिएका दृष्टान्त सवै उस्तै छन् । लेखकको जागिरेजीवन कस्तो थियो मलाई खासै थाह भएन । म यस सेवामा प्रवेश गर्दा ताका वहाँको शायद अवकाश भइसकेको हुँदो हो । तर मलाई यो पुस्तक पढेपछि लाग्यो । अहिलेको यो अति दरिद्र समयमा आफू जता पुगेपनि यस्ता विषयहरु संचित गरिराख्दा भविश्यमा यस्तो पुस्तक लेख्न सकिने रहेछ । 

अन्तमा लेखकलाई यो पुस्तक अंग्रेजी भाषामा समेत Translate गरी निकाल्न पाए अझ सजीव हुने सुझाव दिन चाहन्छु । र, लेखकलाई र मलाई उर्जा दिने प्रकाश सिग्देल (Prakash Sigdel)लाई पनि धन्यवाद दिएको छु ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.