२३ मंसिर २०८२, सोमवार

आयोजना प्रभावित स्थानीयको माग सम्बोधन गर्दै ब्रम्हायणी जलविद्युत आयोजना

२२ मंसिर, चौतारा । ब्रम्हायणी जलविद्युत आयोजनाले आफ्नो प्रभावित क्षेत्रका बासिन्दाले राखेको विभिन्न मागको सम्बोधन गर्ने भएको छ ।  जुगल गाउँपालिकाका दिपु, तेगा, तेम्बाथान र साङगुलिङ क्षेत्रका स्थानीयवासीसँग ९ बुँदे प्रारम्भिक सहमति गरेर आयोजना प्रभावित क्षेत्रको माग सम्बोधन गर्ने भएको हो । 

करिब एक हप्ता देखि प्रभावित क्षेत्रको तर्फबाट विभिन्न १९ बुदें माग राखेर ३६.५२ मेगावाट क्षमताको ब्रम्हायणी जलविद्युत् आयोजनामा अवरोध गरेका थिए । अब आयोजनाको काम पुनः सुचारु हुने भएको छ।

आयोजना प्रभावित दिपु–तेगा–तेम्बाथान ब्रम्हायणी खोलाका स्थानीयले विभिन्न १९ बुँदे माग राख्दै आयोजना क्षेत्रका सबै निर्माण कार्य रोकेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आयोजना पक्ष, स्थानीयवासी तथा जनप्रतिनिधि बीच छलफल भएको हो । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको रोहवरमा र स्थानीय जनप्रतिनिधिको तर्फबाट वडा अध्यक्ष लक्ष्मण दोङ र चन्द्रकाजी लामाको उपस्थितिमा भएको छलफलपछि ९ बुँदे प्रारम्भिक सहमतिमा आयोजनातर्फबाट सनत कुमार अधिकारी र स्थानीयवासी तर्फबाट निम तार्के शेर्पा तथा निमा वाङ्दी शेर्पाले हस्ताक्षर गरेका छन्।

 यसअघि पटक पटक वार्ताका लागि गाउँपालिका तथा आयोजनाले बोलाउँदा स्थानीयहरू सहभागी नभएका कारण छलफल अघि बढ्न सकेको थिएन । आयोजना प्रभावित स्थानीयको माग सम्बोधन गर्ने सवालमा  ब्राह्मयणी जलविद्युत आयोजना निकै अगाडि रहेको बुझिएको छ । यस अघि नै सडकबाटो, पुल, स्कुल, स्वास्थ्य चौकी, होमस्टे, बिजुलि बत्तिको काम गरिसकेको आयोजनाको भनाइ छ ।

जुगल गाउँपालिका भित्रका धेरै आयोजनाहरुमा वास्तविक प्रभावित भन्दा पनि बाहिरका टाठाबाठाको उक्साहटमा स्थानीय सोझसाझा जनताले आन्दोलन गर्ने अनि फाइदा तीनै टाठाबाठाले लिने गरेको धेरैको भनाइ छ । गाउँपालिका अध्यक्ष रेशम श्याङ्बोले समेत आयोजनाहरुमा बिचौलीयाहरुको हावी हुने गरेको र त्यसलाइ रोक्ने प्रयत्न गाउँपालिकाको तर्फबाट भैरहेको बताउनु भएको छ । अहिलेको घटनाको सवालमा पनि स्थानीयलाइ पटक पटक वार्ता छलफलको लागि बिलाइएको भएपनि तिनै बिचौलीयाको कारण स्थानीय समयमै वार्ता छलफलमा नआएको गाउँपालिका तथा आयोजनाको भनाइ छ । अबको दिनमा आयोजनासङ्ग संबंधित कुनैपनि बिषयमा गुनासो रहेमा बिचौलिया मार्फत होइन, आयोजनालाइ सिधै भन्न पनि आयोजनाले अनुरोध गरेको छ । सिन्धुपाल्चोकमा संचालित  विभिन्न आयोजना त्यसमा पनि जलविद्युत आयोजनाहरुमा बिचौलीयाको उक्साहटमा आन्दोलन हुने गरेको र तिनै बिचौलियाले फाइदा लिने गरेको वास्तविक प्रभावित सधैं मारमा पर्ने गरेको देखिन्छ । 

ब्रम्हायणी जलविद्युत आयोजना र आयोजना प्रभावित स्थानीय बिचमा भएको सहमतिको मुख्य बुँदा यी हुन । 

१) सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम प्रभावित क्षेत्रमा गाउँपालिकासँग समन्वय गरेर स्थानीयको प्रत्यक्ष सहभागितामा सञ्चालन गरिने।

२)  दिपु बस्ती संरक्षण कार्य आयोजनाले तत्काल सुरु गर्ने।

३)  तेम्बाथान बस्तीको सडक चौडा तथा व्यवस्थित बनाउन आयोजनाले सहयोग गर्ने।

४) कुमजोङ खोला–तेम्बाथान बेलिब्रिज निर्माण गाउँपालिकाको समन्वयमा ब्रम्हायणी हाइड्रो र अपर बलेफी ४६ मेगावाट हाइड्रोको साझेदारीमा सम्पन्न गर्ने।

५)  आवश्यक जनशक्ति भर्ती दक्षताको आधारमा सम्भव भएसम्म स्थानीयबाट गर्ने।

६) साङलुङ बस्तीमा बिजुली उपलब्ध गराउने दायित्व आयोजनाले लिने।

७)  अघिल्लो सहमति र समझदारीहरू प्राथमिकताका साथ कार्यान्वयन गर्ने।

८) आयोजनामा भइरहेको अवरोध हटाई आजैदेखि काम सुचारु गर्न स्थानीयले सहयोग गर्ने।

९) बाँकी न्यायोचित मागहरू कानुनअनुसार क्रमिक रूपमा सम्बोधन गर्दै जाने।


सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.