हेटौंडा, साउन १५ — बागमती प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीको शपथ ग्रहण कार्यक्रम आज अचानक स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम प्रदेश प्रमुखको स्वास्थ्य समस्या देखाउँदै अनिश्चितकालका लागि स्थगन गरिएको हो।
बुधबार मात्रै मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण, र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए। उनीहरूलाई आज शपथ गराउने तयारी भए पनि अन्तिम समयमा आएर कार्यक्रम रोकिएको हो।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि बिहानै काठमाडौं जानु परेकाले शपथ कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, "माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौँ प्रस्थान गर्नुभएको हुँदा निर्देशनअनुसार अर्को सूचना नआएसम्मका लागि शपथ कार्यक्रम स्थगन गरिएको हो।"
यद्यपि स्रोतका अनुसार यो स्थगन केवल स्वास्थ्य समस्याको कारण मात्र नभइ पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडिएको छ। बुधबार मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि उनले तत्काल नयाँ मन्त्री नियुक्त गरेका थिए। तर सत्ता साझेदार नेकपा एमालेका बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले फोनमार्फत शपथ रोक्न भनेपछि हिजोको तयारी रोकिएको थियो।
बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँले बहुमत ल्याउँदै दलको नेतामा जित हासिल गरेका थिए, जबकि लामाले पराजय भोगेका थिए। दलको नेतृत्व गुमाएपछि पनि मुख्यमन्त्री लामाले पद नछाड्ने अडान लिएपछि प्रदेश सरकारको राजनीतिक स्थायित्व थप अस्थिर बनेको छ।
शपथ स्थगनसँगै बागमती प्रदेशमा सत्ताको भागबण्डा र नेतृत्त्वको द्वन्द्व झन् जटिल बन्दै गएको देखिएको छ। आगामी दिनमा दलहरूबीचको सहकार्य, मुख्यमन्त्रीको भविष्य, र मन्त्रीहरुको नियुक्तिको वैधता मुख्य बहसको विषय बन्ने सम्भावना बढेको छ ।