६ भदौ २०८२, शुक्रवार

भोटेकोसी ५ जलविद्युत आयोजना बन्दै

विदुर आचार्य, बाह्रबिसे । मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट निस्केको पानीबाट ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माण गर्न लागिएको छ । कालीका इनर्जी लिमिटेडको  ९ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको लगानीमा उक्त आयोजना बन्न लागेको हो ।  आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस आयोजना मध्य भोटेकोशी १०२ मेगावाट जलविद्युत् आयोजनाको पावरहाउसबाट निस्किने पानी प्रयोग गरी निर्माण हुने र सोका लागि ५.६ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । त्यसै गरि  ४ किलोमिटर लामो २२०÷४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेशनमा जोड्ने योजना रहेको छ । 

सार्वजनिक सुनुवाइ सम्पन्न: आयोजना क्षेत्रमा आयोजना प्रभावित स्थानीयसँग सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। सो अवसरमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) प्रतिवेदन प्रस्तुत गर्दै स्थानीयको सुझाव, गुनासो तथा सल्लाह लिइएको थियो। कालीका इनर्जी लिमिटेडका अध्यक्ष मोहन विक्रम कार्कीले आयोजना स्थानीय जनताको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आयोजनाबाट उत्पन्न हुने सम्भावित समस्या समाधानमा कम्पनी जिम्मेवार रहने उल्लेख गर्दै, “जनधारणा बुझ्ने, जनगुनासो सम्बोधन गर्ने, बजार तथा बस्ती तथा ऐतिहासिक स्थलहरूको संरक्षणमा पनि आयोजना उत्तरदायी हुनेछ,” भन्नुभयो। कार्कीले स्थानीय स्रोत र जनशक्तिको प्रयोगलाई प्राथमिकता दिने र स्थानीय प्रवद्र्धकको सेयर ५० प्रतिशत पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो।

स्थानीय नेतृत्वको आग्रह : सार्वजनिक सुनुवाइ कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठ, र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत लगायतका वक्ताहरूले आयोजना अगाडि बढाउँदा स्थानीय माग र चासो सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष कार्कीले प्रारम्भिक अध्ययनमा नदेखिएका तर आयोजनाको क्रममा देखा पर्न सक्ने प्रभाव न्यूनीकरणमा पनि कम्पनी सचेत रहेको स्पष्ट पार्नुभयो। यसअघि विभिन्न जलविद्युत् आयोजना निर्माणको अनुभव बटुलेको कालीका इनर्जी लिमिटेडले भोटेकोशी–५ आयोजना पनि सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ऊर्जा प्रणालीमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.